४० बर्षमा १२ सन्तान
बजुराको हिमाली गाँउपालिका १ कोट बस्ने ४३ बर्षकी कलशरी बुढाले ४० बर्षको उमेरमा १२ सन्तानलाई जन्म दिएकी छिन्। १६ बर्षको उमेरमा बिवाह गरेकी कलशरीले ४० बर्षमै १२ सन्तालाई जन्म दिएकी हुन्। १८ बर्षको उमेरमा पहिलो सन्तानलाई जन्म दिएकी छिईन्। बाजुराको सर्वाधिक दुर्गम गाँउ कोटकी कलशरी सबै बच्चा घर र मेलापात गएको बेला जंगलमा जन्माएकी हुन्। ६ वटा बच्चा घरमा जन्माएकी उनले ६ वटा बच्चा मेलापातमा गएको बेला जंगलमै जन्माएको उनले वताईन्।
देउसैन स्वास्थ्य चौकी पुग्न एकदिन लाग्ने गर्छ, त्यो पनि जान र आउन अप्ठयारो भएकाले पनि सबै बच्चा उनले स्वास्थ्य चौकी बाहिर नै जन्माएको बताउछिन्। १२ सन्तान मध्ये ७ छोरी ५ छोरा रहेको उनले वताईन्। कान्छो छोरा अहिले ४ बर्षको भएको छ । उनले कुनै बेला गर्भ भएको समय गर्भजाँच समेत गरिनन्। उनले बिवाह पछि कुनै बेला पनि परिवार नियोजनाको साधान प्रयोग समेत नगरेको वताईन्। आफुलाई त्यो सम्बन्धि कुनै जानकारी समेत नभएको थपिन्। गाँउमा परिवार नियोजन सम्बन्धि चेतना दिने स्वास्थ्यकर्मी समेत कुनै नआएको उनको भनाई छ।
१२ पटक बच्चा जन्माउँदा उनले रक्क्तअल्पता, कुपोषण र कमजोरी जस्ता समस्या भोग्नु परेको थियो। सुत्केरी भएको बेला आराम समेत गर्न नपाएको उनी बताँउछिन्। बच्चा पाएको बेला पनि काम गर्नु परेको उनको भनाई छ। कलशरी जस्तै बाजुराको दुर्गम गाँउका महिला धेरै बच्चा जन्माउने गरेका छन्। परिवार नियोजन सम्बन्धि जानकारी अभाब अझै पनि दुर्गम गाँउमा रहदै आएको छ। हिमाली गाँउपालिका धेरै गाँउका महिलाहरु उमरे ढल्किदा सम्म पनि बच्चा जन्माउने गरेको हिमाली गाँउपालिकाकी उपाध्यक्ष चन्द्रकला बुढाले बताईन्।