कैलालीको गोदावरी नगरपालिकाकाे झन्डै ४० करोड बेरुजु, खाजा र खानाको नाममा १४ लाख भुक्तानी
धनगढी: कैलालीको गोदावरी नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा एक अर्ब ९ करोड २२ लाख २ हजारको बजेट असार २४ गते पारित गरेको थियो। पारित बजेटमा ३३ करोड ७ लाख ६२ हजार मात्र खर्च भयो।
महालेखाको पछिल्लो प्रतिवेदनले नगरपालिकाको ६ करोड ९ लाख ९२ लाख ७४ हजार बेरुजु थप भएको देखाएको छ। असुल गर्नुपर्ने बेरुजु ६२ लाख ५१ हजार छ। गोदावरी नगरपालिकाको कुल बेरुजु रकम बढेर ३९ करोड ८८ लाख ९६ हजार पुगेको हो।
२५ लाख ५८ हजार पेस्की बेरुजु देखिएको छ। पेस्की बेरुजु घटाउने विषयमा नगरपालिका बेखबर जस्तै छ। विभिन्न निर्माण कम्पनीलाई दिएको पेस्की बेरुजु असुल गर्न समेत नगरपालिका असफल देखिएको हो। तत्कालिन नगरप्रमुखले स्वकीय सचिव नियुक्ति गरी मासिक ३० हजार दुई सयका दरले ३ लाख ९२ हजार ६ सय रुपैयाँ नियमविपरीत भुक्तानी गरेको समेत खुलेको छ।
नगरपालिकाले विविध शीर्षकमा मनपरी खर्च गरेको प्रतिवेदनमा उल्लेख छ। महालेखाको प्रतिवेदनमा खाजा, खाना लगायत होटलका बिल पेस गरेर १३ लाख ६३ हजार ६ सय ३७ रुपैयाँ र नगरसभा सञ्चालन खर्च भन्दै थप ३० लाख १० हजार ६ सय ८५ रुपैयाँ औचित्य पुष्टि नहुने गरी खर्च गरेको पाइएको छ।
नगरपालिकाले २ करोड ७६ हजारका सामान सोझै खरिद गरेको समेत पाइएको छ। कार्यालय सामाग्री तथा मसलन्द, मेसिनरी औजार, फर्निचर, सडक मर्मत सुधारको नाममा नगरपालिकाले यति धेरै रकम खर्च गरेको प्रतिवेदनले देखाएको हो।