धनगढी उपमहानगरपालिकाको पेस्की बेरुजु दोब्बर
वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीको पेस्की बेरुजु दोब्बरले बढेको छ। आर्थिक वर्ष २०७६/७७ मा कुल ६ लाख पेश्की बेरुजु रहेकोमा आर्थिक वर्ष २०७७/७८ सम्म आइपुग्दा दोब्बर अर्थात ११ लाख ९४ हजार पुगेको छ।
आर्थिक वर्ष २०७७/७८ मा कूल बेरुजु १० करोड २२ लाख ४४ हजार कायम भएकोमा २०७९ सम्म अद्यावधिकसहितको बेरुजु रकम ३४ करोड ८८ लाख ४१ हजार पुगेको हो। चालु आर्थिक वर्षदेखि बेरुजु रकम घटाउन ५ सदस्यीय लेखा समिति नै गठन गरिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले बताए।
‘उपमहानगरको बेरुजु घटाउने तथा बिना प्रमाण र कागजात कुनैपनि भुक्तानी नदिने, पुराना सम्पूर्ण बेरुजु रकमलाई घटाउने र चालु आर्थिक वर्षदेखि कुनैपनि प्रकारको बेरुजू नरहने गरी काम गर्न ५ गते बसेको कार्यपालिका बैठकले ५ सदस्यीय लेखा समिति नै गठन गरेको छ’ उनले भने।
समितिले महालेखा प्रतिवेदनले बेरुजूमाथि औल्याएका विषयमा छलफल र समिक्षा गरेर चालु आर्थिक वर्षदेखि कुनैपनि प्रकारको बेरुजू नरहने गरी कामको सुरुवात गरिने प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताए। बेरुजु घटाउनेतिर यसअघि भने उपमहानगरको ध्यान जान सकेको थिएन।
धनगढी उपमहानगरको बेरुजू आर्थिक वर्ष २०७४/७५ मा ९५ लाख ३५ हजार मात्र थियो भने पेश्की बेरुजु ४४ लाख ८७ हजार थियो। बेरुजु रकम आर्थिक वर्ष २०७५/७६ मा भने बढेर १५ करोड ४३ लाख ६७ हजार तथा पेश्की बेरुजु अहिलेसम्मकै बढी अर्थात ८ करोड ३६ लाख ४६ हजार नाघेको थियो। असुल गर्नुपर्ने, प्रमाण कागजात पेश गर्नुपर्ने, नियमित गर्नुपर्ने तथा पेश्की बाँकी गरेर उपमहानगरमा बेरुजु रकम बढ्दै गएको महालेखाको प्रतिवेदनले देखाएको छ।
प्रमाणबिना भुक्तानी दिने प्रवृत्तिका कारण उपमहानगरको बेरुजु हरेक वर्ष बढ्दै गएको छ। असुल गर्नुपर्ने र नियमित गर्नुपर्ने रकमतिर उपमहानगरको ध्यान जान सकेको थिएन। विधि र प्रक्रिय विपरीत गरिने भुक्तानीका कारण आर्थिक पारदर्शिताको सवालमा समेत उपमहानगर चुक्दै गएको सरोकारवाला बताउँछन्।