धनगढी उपमहानगरपालिकाको बेरुजु ३४ करोड बढी
धनगढी: प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीको हालसम्मको अध्यावधिक बेरुजु ३४ करोड नाघेको छ। महालेखा परीक्षकको प्रतिवेदन २०७९ अनुसार आर्थिक वर्ष २०७७/०७८ को बजेट कार्यान्वयन गर्दा लेखापरीक्षणबाट १० करोड ५२ लाख १६ हजार बेरुजु देखिएको छ।
सो मध्ये मिति २०७९ जेठ २७ मा प्राप्त प्रतिक्रियाबाट ५१ हजार फछ्र्यौट भई असुल गर्नुपर्ने १ करोड ६९ लाख ८३ हजार रहेको छ। यस्तै प्रमाण तथा कागजात पेश गर्नुपर्ने ६ करोड ३५ लाख ५६ हजार छ भने नियमित गर्नुपर्ने २ करोड ३४ लाख २२ हजार छ। पेश्की रकम ११ लाख ९४ हजार बाँकी बेरुजु रहेको छ।
धनगढी उपमहानगरपालिकाको गत वर्षसम्म २५ करोड १६ लाख ५२ हजार बेरुजु बाँकी रहेकोमा यस वर्ष समायोजन र सम्परीक्षकबाट फर्छयौट एवं यो वर्ष कायम भएको बेरुजुसमेत हालसम्मको अध्यावधिक बेरुजु ३४ करोड ८८ लाख ४१ हजार रहेको छ।