एनआईसी एशिया बैंक २५ औं वर्षमा प्रवेश, खुद नाफा ४.५३ अर्ब
काठमाडौँ: देशको निजी स्तरको नम्बर १ बैंक एनआईसी एशिया बैंक लिमिटेड २५औं वर्षमा प्रवेश गरेको छ। शाखा सञ्जाल, एटिएम सञ्जाल, कुल निक्षेप, कुल कर्जा प्रवाह, लगायत धेरै कुरामा अग्रणी रहेकै कारण देशको नम्बर १ बैंक बन्न सफल एनआईसी एशिया बैंकले आज ९साउन ५० गरे स्थापनाको २५औं वर्षगाँठ मनाउँदैछ । २५ वर्षअघि आजकै दिन स्थापना भएको बैंकले ‘बैंककै भाषामा’ भन्दा देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै बैंकले रजत जयन्ती मनाएको छ।
स्थापनाको २५औं वर्षमा प्रवेश सो बैंकले बार्षिकोत्सवबीच आर्थिक बर्ष २०७८/७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म बैंकले खुद मुनाफा रकम ३९ प्रतिशतले बृद्धि गरेर ४.५३ अर्ब रुपैयाँ पुर्याएको छ। यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल १९.६५ प्रतिशत रहेको छ भने प्रतिशेयर आम्दानीतर्फ ३९.१३ आर्जन गर्न बैंक सफल भएको।
कर्जा असुलीमा पनि बैंकले उत्साहजनक प्रगति गरेको छ । समीक्षा अवधिमा बैंकले निष्क्रिय कर्जालाई घटाएर ०.४९ प्रतिशतमा झारेको हो। बैंकको कुल पूँजी पर्याप्तता अनुपात १३.५१ प्रतिशत पुगेको छ। एक बर्षमा बैंकले १२ लाखभन्दा बढी नयाँ खाताहरू थप गर्दै ४० लाख भन्दा बढी खाताहरूमार्फत ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको छ।
कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल कर्जाहरू कर्जा विस्तार गरेको छ। साना तथा मझौला कर्जा लगानीमा अन्य बैंकभन्दा अग्र स्थानमा रहने बैंकको अनुमान छ।
१ कित्ता शेयर बराबर १३.१२ कित्ता
स्थापनाको २५ वर्षको यात्रामा बैंकको शेयर मूल्यमा पनि उच्च बृद्धि भएको छ। आर्थिक वर्ष ०५६/०५७ मा १ कित्ता बराबरको साधारण शेयरमा लगानी गर्ने शेयरधनीको उक्त शेयर संख्या १३.१२ कित्ता पुगेको जनाएको छ। जसको प्रतिफल आजको बजार मूल्यमा ९ हजार ५२० रुपैयाँ ९७ पैसा बराबर पुगेको छ।
धेरै कर तिर्ने बैंक
एन आई सी एशिया बैंकले हालसम्म १९ अर्ब ९२ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ। गत आर्थिक वर्ष २०७८/७९ मा मात्रै ३ अर्ब ४१ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाएको थियो। जुन अन्य वाणिज्य बैंकहरूको भन्दा सबैभन्दा बढी हो।
मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको एनआई एशिया बैंकमा रोशन कुमार न्यौपाने सिइओ रहेका छन् भने तुलसीराम अग्रवाल अध्यक्ष छन्।
देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ।
वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ। देशको कुल जनसंख्याको ८०५ भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२५ शाखा कार्यालयहरू स्थापना गरी बैकिङ्ग सेवा प्रवाह गर्दै आएको छ।