सुदूर नेपाललाई विश्वसँग जोड्दै

चिसापानी–मंगलसेन सडकको ५३ किलोमिटरमा कालोपत्र गर्न ठेक्का सम्झौता हुँदै

२०७९ साउन ४, १०:४८ कमल सावद

धनगढीः कैलालीको चिसापानी–जंगलघाट–मंगलसेन सडक २०२८ सालबाट निर्माण सुरु भएको थियो। अछामका पञ्चायतकालीन नेता स्वः हरिप्रसाद भण्डारीले सोही सडकबाट २०२४ चैत २४ गते जिल्ला सदरमुकाम मंगलसेनसम्म जीप पुगाएका थिए। उक्त सडकको गत आर्थिक वर्षमा ट्रयाक निर्माणको काम पूरा भएको थियो। 

चालु आर्थिक वर्ष २०७९/०८० मा भने सोही सडकखण्डको ५३ किलोमिटर कालोपत्रका लागि ठेक्काको तयारी थालिएको छ।  कैलालीमा १०, सुर्खेतमा १८ र अछाम खण्डमा २५ किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता गरिने भएको हो। 

पूर्वाधार विकास निर्देशनालय सुर्खेतका इन्जिनियर हरि शर्मा धितालका अनुसार कुइनेदेखि १८ किलोमिटर सडक कालोपत्रका लागि ठेक्का हुँदैछ। अन्य भौतिक संरचना निर्माणका लागि दुई खण्डमा काम जारी छ। ‘सुर्खेत खण्डमा कुइने–जामु–बाबियाचौर–भक्तडी–जंगलघाट सडक हो। कर्णाली प्रदेश सरकारले ४४ करोड रकम विनियोजन गरेको छ’ उनले भने, ‘१८ किलोमिटर कालोपत्र हुने गरि, बाबियाचौरको भ्यागुतेखोलासम्म पिचका लागि टेण्डर भएको छ। तीन किलोमिटर नाला निर्माण र स्टक्चरको काम हुँदैछ।’ 

कर्णाली प्रदेश सरकारले दुई आर्थिक वर्ष अगाडि २ करोड बजेट छुट्याएर ९ किलोमिटर बाटोको ट्रयाक खोलिएको थियो। गाउँपालिकाले ७/८ लाख रकम विनियोजन गर्दै बाँकी क्षेत्रको ट्रयाक खोलेको थियो। ‘जलजला कन्ट्रक्सनले कटिङको काम मात्र गर्दैछ। अनथ–जयवेदी–सन्राइज भन्नेले चार किलोमिटर नाला बनेको र तीन किलोमिटरमा नाला बन्न बाँकी छ,’ धितालले दिनेशखबरसँग भने। 

कुइने–बाबियाचौर–जंगलघाट कालोपत्र सडकका लागि कर्णाली प्रदेश सरकारले ४४ करोड विनियोजन गरेको छ। कर्णाली प्रदेश सरकारले उक्त सडकको १८ किलोमिटर कालोपत्रका लागि चालु आर्थिक वर्षमा ठेक्का गर्दैछ।

सुदूरपश्चिम र कर्णाली प्रदेश सरकार तथा संघीय सरकारले एक अर्ब ४४ करोड रकम विनियोजन गरेपछि यो सडक कालोपत्र सुरु हुने भएको छ। कैलालीमा १० किलोमिटर सडक कालोपत्रका लागि ३ करोड, सुर्खेतमा १८ किलोमिटर सडक कालोपत्रका लागि ४४ करोड र अछाममा २५ किलोमिटर सडक कालोपत्रेका लागि ९७ करोड विनियोजन गरिएको छ। यो सडकले सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलाई  सडक सञ्जालसँग जोड्नेछ। 

कैलाली खण्डमा सडक कालोपत्रका लागि संघीय सरकारले तीन करोड विनियोजन गरेको छ। प्रतिनिधि सभा सदस्यहरुको एक निर्वाचन क्षेत्र एक सडक पूर्वाधारबाट उक्त रकम विनियोजन भएको हो। 

कैलालीमा सडक डिभिजन कार्यालय, कञ्चनपुरमार्फत कालोपत्रका लागि प्रक्रिया थालिएको छ। कैलालीको चिसापानीदेखि सुर्खेतको कुईनेसम्म झण्डै २९ किलोमिटर सडक छ। चिसापानी बजार क्षेत्रको झण्डै २ किलोमिटर कालोपत्र भएकोमा कुईनेसम्मको बाँकी १० किलोमिटर सडक निर्माणका लागि ठेक्का हुने सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख इन्जिनियर हरि सुवेदीले बताए। उनले भने, ‘नयाँ ठेक्क हुँदैछ। अहिलेसम्म हाम्रो काम थिएन। यो आर्थिक वर्षबाट काम सुरु हुन्छ।’

चिसापानी–जंगलघाट–मंगलसेन सडकको अछाम खण्डमा एक सय १० किलोमिटर सडक छ। ९७ करोड समपुरक योजनाबाट सडक निर्माणका लागि विनियोजन गरिएको छ। संघ र सुदूरपश्चिम सरकारको ५०/५० प्रतिशतको लगानीमा २५ किलोमिटर सडक कालोपत्रका लागि ठेक्काको तयारी थालिएको छ। गैरीटारदेखि बाँचकाँडासम्म २५ किलोमिटर सडक निर्माणका लागि ठेक्का सम्झौता चालु आर्थिक वर्षमा हुन सडक डिभिजन कार्यालय अछामका प्रमुख रुद्र बोगटीले बताए। उनका अनुसार बाजुरा जिल्लासम्म ट्रयाक निर्माणका बाँकी ठेक्काहरुमा पनि काम हुँदैछ।

चिसापानी–जंगलघाट–मंगलसेन सडकले सुदूरपश्चिमका कैलाली, डोटी, अछाम र बाजुरा तथा कर्णाली प्रदेशका ४ जिल्ला जोड्छ। कुइनेको कर्णाली नदीमा पक्की पुल निर्माण पूरा भएको छ भने जंगलघाटको कर्णाली नदीमा पुल निर्माणको ठेक्का भएको छ। 

सडक कालोपत्रसँगै जंगलघाटमा पर्ने कर्णाली नदीमा पुल निर्माणको ठेक्का सम्झौता पनि गरिने भएको हो। तर पुल निर्माणको काम सुरु भने भएको छैन।
 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस