धनगढीमा थन्कियो पञ्चेश्वर गाउँपालिकाको एम्बुलेन्स
बैतडी:बैतडीको पञ्चेश्वर गाउँपालिकाको एम्बुलेन्स धनगढीमा थन्किएको ५ महिना बढी भएको छ। एम्बुलेन्स नहुँदा बिरामीले सास्ती भोग्दा समेत एम्बुलेन्स ल्याउने विषयमा पालिकाले चासो नदिएको गुनासो आएको छ। गाउँपालिकामा एम्बुलेन्स नहुँदा बिरामीहरुले भने सास्ती भोग्नुपरीरहेको स्थानीय जयबहादुर चन्दले बताए।
पञ्चेश्वर गाउँपालिकाको एम्बुलेन्सले करिब ५ महिना अगाडि धनगढीमा मोटरसाइकललाई ठक्कर दिएको थियो। त्यसपछि एम्बुलेन्स प्रहरीको नियन्त्रणमा रहेको छ। पञ्चेश्वर गाउँपालिकाको एम्बुलेन्स चालकसँग हलुका सवारी साधनको मात्रै लाइसेन्स भएको र एम्बुलेन्स हेबी भएकाले हेबी सवारी साधनको लाइसेन्स भएको चालक राख्न प्रहरीले भनेको छ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसागर शाहले ठक्कर दिएको मोटरसाइकलको पाठपूर्जा मगाएर मर्मत गर्नुपर्ने भएकाले ढिलाइ भएको बताए। मोटरसाइकल मर्मत नहुँदा एम्बुलेन्स रोकिएको उनले बताए।
अत्यावश्यक साधनको रुपमा रहेको एम्बुलेन्स सञ्चालन र व्यवस्थापनमा पालिकाले ध्यान नदिएको भन्दै आलोचना भएको छ। उक्त एम्बेलेन्स सुदूरपश्चिम प्रदेश सरकारले गाउँपालिकालाई उपलब्ध गराएको थियो।