सुदूर नेपाललाई विश्वसँग जोड्दै

टनकपुर ब्यारेजबाट २६ वर्षपछि छाडिएको पानी नहर परीक्षणपछि बन्द

महाकाली सिँचाइ आयोजना

२०७९ साउन २, १२:४५ खबर संवाददाता

धनगढीः तेस्रो चरणको निर्माण सम्पन्न भएको महाकाली सिँचाइ आयोजनाको मुल नहरको परीक्षण सकिएपछि पानी बन्द गरिएको छ। उच्च तहबाट नहरको उद्घाटन गराउने तयारी भइरहेकाले पानी बन्द गरिएको आयोजना कार्यालयले जनाएको छ।

महाकाली सन्धि भएको झन्डै अढाई दशकपछि भारतीय क्षेत्रको टनकपुर ब्यारेजबाट मूल नहरमा पानी छाडिएको थियो। भारतीय पक्षले असार दोस्रो साता आफ्नो क्षेत्रमा निर्माण भएको नहरको परीक्षण गर्न छाडेको पानीले नेपालतर्फको नहर पनि परीक्षण गरिएको हो। असार १५ को धान दिवसको अवसर पारेर तेस्रो चरणको नहरबाट बेदकोट नगरपालिका–४ बगुनमा रोपाइॅ पनि गरिएको थियो।

उद्घाटनपछि नहरमा नियमित पानी बग्ने बताइएको छ। गत वर्ष पुसमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तयारी भइरहेका बेला दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा नहरको उद्घाटन गर्ने तयारी थियो। तर प्रधानमन्त्री देउवाको भ्रमण स्थगित भएपछि उक्त कार्यक्रम रोकिएको छ । अहिले पनि उच्च तहबाटै उद्घाटन गराउने तयारी भैरहेको जनाइएको छ। 

आयोजनाको नहर निर्माण सुरु भएको २६ वर्षपछि मूल नहरमा पानी आएको हो। 
 

कमेन्ट लोड गर्नुस