अक्सिजन प्लान्ट सञ्चालन नहुँदा धनगढी उपमहानगरलाई एक वर्षमा साढे २ करोड घाटा
धनगढीः कोरोना भाइरस संक्रमणको महामारी हुँदा कैलालीको धनगढीमा अक्सिजन अभाव भयो। अक्सिजन नपाएकै कारण संक्रमितहरुले ज्यान गुमाउन थाले। कोरोना अस्पतालहरु संक्रिमितले भरिए। अक्सिजनको कालोबजारी सुरु भयो।
अक्सिजनको आपूर्ति गर्न समस्या भएको बेला धनगढी उपमहानगरपालिकाले आफ्नै प्लान्ट स्थापनाको योजना बनायो। त्यसका लागि उपमहानगरले निजी क्षेत्रलाई सहयोग गर्न आग्रह गरेको थियो। त्यसपछि चौधरी फाउण्डेशन, धनगढीका व्यापारी र उपमहानगरपालिकाको संयुक्त लगानीमा बेलीमा अक्सिजन प्लान्ट जडान भएको छ। चौधरी ग्रुप अन्तर्गतको फाउण्डेशनले उपकरण खरिद गर्दै जडानका लागि ठेक्का गरेको थियो। अक्सिजन प्लान्टका उपकरणसँगै जडानको प्राविधिक सहयोगसमेत चौधरी फाउण्डेशनले नै गरेको थियोे। चौधरी फाउण्डेशनले विद म्यानेजमेन्टलाई धनगढी र सुर्खेतमा अक्सिजन प्लान्ट जडान गर्न ठेक्का दिएको थियो।
५० प्रतिशत चौधरी फाउण्डेसन र ५० प्रतिशत उपमहानगरपालिकाको लगानी हुने सम्झौता छ। झण्डै दुई करोड ५० लाखमा अक्सिजन प्लान्ट जडानका लागि उपकरण चौधरी फाउण्डेशनबाट ल्याइएको हो। यस्तै धनगढी उपमहानगरपालिकाले प्लान्ट सञ्चालनका लागि जनस्तरबाट ८४ लाख संकलन समेत गरेको थियो।
गत वर्षको भदौमा प्लान्ट स्थापनाको काम पूरा भएको हो। तर चौधरी फाउण्डेशन, नीजि क्षेत्र र उपमहानगरपालिका बीच प्लान्ट सञ्चालनका लागि बैठक समेत बसेको छैन। निर्वाचनका कारण प्लान्ट सञ्चालनको विषयमा छलफल नभएको दाबी चौधरी ग्रुप सुदूरपश्चिम प्रतिनिधि स्माइल चौधरीको छ। अक्सिजन जडानको समयमा दैनिक दुई सय ५० सिलिण्डर उत्पादन क्षमताको प्लान्ट हुने दाबी गरिएको थियो।
तर अहिले २४ घण्टामा एक सय मात्र सिलिण्डर उत्पादन हुने बताइएको छ। एक सिलिण्डरको बजार मूल्य ७ सयको हाराहारीमा छ। अक्सिजन बिक्रीबाट उपमहानगरपालिकाले दैनिक ७० हजार आम्दानी गर्ने देखिएको छ। अक्सिजनको आपूर्ति सहज भए, प्रत्येक महिना २१ लाख रुपैयाँ उपमहानगरपालिकाले अक्सिजन बिक्रीबाट आम्दानी गर्नेछ। तर स्थापना भएको १२ महिनासम्म प्लान्ट सञ्चालनमा नआएकाले उपमहानगरपालिकालाई साढे २ करोड रुपैयाँ नोक्सान भएको देखिएको छ। प्लान्ट जडानको काम पूरा भएपनि सञ्चालनमा ल्याउन बेवास्ता गरिएको छ। कार्यविधि नभएकाले सञ्चालनमा नआएको उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण बोहराले बताए। उनका अनुसार कार्यविधि निर्माणको चरणमा छ। ‘अनौपचारिक रुपमा सञ्चालनमा छ।
आवश्यक परेको बेला अक्सिजन उत्पादन गर्छौ। तर पूर्ण सञ्चालनमा आएको छैन। अक्सिजन प्लान्ट सञ्चालन र व्यवस्थापन कार्यविधि बनाउँदैछौ। त्यसपछि कार्यपालिकामा पेस गर्छौ,’ उनले भने।