श्रीलङ्काः राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा नदिएसम्म भवन नछाड्ने प्रदर्शनकारीको अडान
श्रीलङ्कामा प्रदर्शनकारीहरूले राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा नदिएसम्म कब्जा गरेको राष्ट्रपति र प्रधानमन्त्रीको निवास नछाड्ने अडान लिएका छन्।
विगतमा पनि राजीनामा दिने भन्दै ढाँटेकाले अब उनीहरूको राजीनामा नआएसम्म निवास नछाड्ने प्रदर्शनकारीहरूले अडान लिएका बीबीसीले जनाएको छ।
‘हाम्रो सङ्घर्ष सकिएको छैन’, विद्यार्थी आन्दोलनका नेता लाहिरु वीरासेकाराले एएफपीसँग भनेका छन्, ‘राष्ट्रपति राजापाक्षेले साँच्चिकै नछोडेसम्म हामी यो सङ्घर्ष छाड्ने छैनौँ।’
प्रदर्शनकारीहरूले हिजो शनिवारदेखि राष्ट्रपति भवन कब्जामा लिएका छन् भने प्रधानमन्त्रीको निवासमा पनि आगजनी गर्नुको साथै कब्जामा पनि लिएका छन्।
आज आइतवार बिहान मात्रै राष्ट्रपति गोटाबाया राजापाक्षेले आउँदो बुधवार राजीनामा दिने सन्देश पठाएको छ। यस्तै प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पनि संयुक्त सरकार बनाउन आफू तयार रहेको बताएका छन्।