गाडी लिलामीमा कैलाली भन्सारको चलखेल, दशक पुराना गाडीमा नयाँ उत्पादन बर्ष
गाडीको लिलामीमा कैलाली जिल्ला भन्सार कार्यालयले चलखेल गरेको खुलासा भएको छ। बर्षाै पुराना गाडीहरुको नयाँ उत्पादन बर्ष राखेर लिलामीको सुचना जारी गरेपछि भन्सार कार्यालयले चलखेल गरेको आरोप लागेको हो। २१ दिन अगाडी गाडी लिलामीका लागि सुचना जारी गरिएकोमा आज बोलपत्र खोलिदै छ। कार, जिप र मोटरसाईकल गरि १ सय ८ वटा गाडी लिलाम गर्न सुचना जारी भएकोमा ५ सय ८१ जनाले शिलबन्दी बालपत्र फाराम पेश गरका छन्। तर बोलपत्रको सुचनामा पुराना गाडीहरुको पनि नयाँ उत्पादन बर्ष राखिएको भेटिएपछि लिलामी प्रक्रिया नै खारेजीको माग गरिएको छ। भन्सार कार्यालय कैलालीले २००७ उत्पादन बर्ष भएको होन्डा सिटि कारको २०१४ उत्पादन बर्ष भनेर सुचना जारी गरेको थियो। सेन्ट्रो कारको २००८ उत्पादन बर्ष भएकोमा २०१२ राखिएको छ भने सुजुकी कारको २००६ उत्पादन बर्ष भएकोमा २०१२ राखिएको छ।
१० बर्ष पुरानो गाडी लिलामी गर्नै नपाउने नियम भएपनि कैलाली भन्सारले नयाँ उत्पादन मिती राख्दै सुचना जारी गरेको शिलवन्दी बोलपत्र फाराम भरेका धनगढीका छत्र शाहीले बताए। १० बर्ष पुराना गाडीलाई स्क्र्याव अर्थात कवाडीका लागि मात्रै विक्री गर्न पाईन्छ। त्यस्का लागि भन्सार कार्यालयले छट्टै सुचना जारी गर्नुपर्ने हुन्छ। तर भन्सार कार्यालय कैलालीले भने मापदण्ड विपरित १० बर्ष पुराना गाडीको उत्पादन बर्ष नयाँ राखेर लिलामी गर्न खोजेको आरोप लागेको छ।
यस्तै लिलामीको प्रक्रिया नै गलत भएको भन्दै भन्सार कार्यालयलाई अहिलेको प्रक्रिया खारेज गरेर नयाँ प्रक्रिया थाल्न माग गरिएको छ।
भन्सार कार्यालयलाई निवेदन दिएर लिलामीको प्रक्रिया खारेजीको माग भएको हो तर भन्सार कार्यालयले भने बोलपत्र खोलीरहेको छ। यता भन्सार कार्यालय कैलालीका प्रमुख भन्सार अधिकृत ईश्वरी अर्यालले भने प्राविधिक ऋुटी भएकोले सच्याईने बताए। उनले यातायात कार्यालयका प्रतिनिधि र ईन्जिनियरहरुको टोलीले बुझाएको प्रतिवेदन अनुुसार लिलामीको सुचना प्रकाशन भएकाले ऋुटी भएको भेटिएमा सुधार गरिने बताए।