धनगढीमा विद्युत कटौतीको समस्याः १३२ केभीको सबस्टेशन बनाउन जग्गा अभाव
धनगढीः कैलालीको धनगढीमा गर्मीको समयमा प्रत्येक वर्ष अनियमित विद्युत कटौती हुँदै आएको छ। धनगढी वितरण केन्द्रको स्टेशनले गर्मीको समयमा माग गरिएको विद्युत आपूर्ति गर्न नसक्दा त्यस्तो भएको हो। पूराना तथा कम क्षमताका विद्युत संरचनाका कारण धनगढीमा पटक–पटक बिजुली जाने समस्या छ।
नेपाल विद्युत प्राधिकरण, धनगढी वितरण केन्द्रका प्रमुख सूर्यनारायण मण्डलका अनुसार धनगढीमा केहीहदसम्म विद्युत मागको समस्या समाधान भएको छ। उनका अनुसार अत्तरिया र हसुलियाबाट विद्युत ल्याएर केही समस्या समाधान गरिएको छ। तर, यो दिर्घकालिन समाधान भने होइन।
धनगढीको अनियमित विद्युत कटौतीको दिर्घकालिन समस्या समाधानका लागि १३२ केभीको नयाँ सबस्टेशन आवश्यक छ। धनगढीको जनसंख्या वृद्धि हुँदै गएकाले विद्युत भार कम गर्न नयाँ स्टेशनको आवश्यकता देखिएको हो। तर, धनगढीमा नयाँ स्टेशन निर्माणका लागि जग्गाको अभाव देखिएको छ।
नेपाल विद्युत प्राधिकरण, धनगढी वितरण केन्द्रले २ विघा जग्गा खोजिरहेको छ। प्राधिकरणलाई स्टेशन निर्माणका लागि आवश्यक २ विघा जग्गा धनगढीमा नपाइएको नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख सूर्यनारायण मण्डलले बताए।
प्राधिकरणले धनगढी उप–महानगरपालिकाको वडा नम्बर ७ मा दुई ठाउँ, वडा नम्बर ६ एक ठाउँ, वडा नम्बर १२ को जुगेडा, वडा नम्बर ३ को बसपार्क निर्माण हुने क्षेत्र तथा वडा नम्बर ४ को बोराडाँडी नेपाली सेनाको उत्तर तिरको जग्गामा १३२ केभी स्टेशन निर्माणका लागि जग्गा हेरेको छ।
तर कुनै पनि स्थानमा टुंगो लागेको छैन। प्राधिकरणले यसका लागि बजेट पनि विनीयोजन गरेको छैन। नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय, अत्तरियाका प्रमुख जंगबहादुर चन्दले जमिनको टुंगो लागेपछि सबस्टेशनको निर्माणमा बजेटको अभाव नहुने बताए।
कैलालीको पहलमानपुरबाट १३२ केभीको तार धनगढी ल्याउनुपर्ने भएकाले घना बस्ती तथा भौतिक संरचना नभएको क्षेत्रमा स्टेशन निर्माण गर्नुपर्ने देखिएको हो। धनगढीमा उद्योग व्यवसायी विस्तार, सुपरमार्केट, मार्ट तथा होटलहरु खुल्ने क्रम बढेको छ।
धनगढीको विकाससँगै विद्युत खपत पनि बढेकाले नयाँ स्टेशनको आवश्यकता महसुस गरिएको हो। नयाँ स्टेशन निर्माण भए ५० वर्षका लागि धनगढीमा विद्युतको समस्या हल हुने प्राधिकरणको दाबी छ।