सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा ‘चिफ सर’बाट बलात्कृत कैलालीकी महिलालाई प्रहरीले उल्टै धम्क्याएपछि...

२०७९ असार २५, ०७:३१ टेकसिंह धामी

धनगढीः बैतडीमा एक क्याम्पसका प्रमुखले महिलामाथि बलात्कार गरेको आरोप लागेको छ। जिल्लाको पुर्चौडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्र नेगीले एक मजदुर महिलामाथि बलात्कार गरेको आरोप लागेको हो। क्याम्पस प्रमुख नेगीले असार २० गतेको राति मुख थुनेर आफूमाथि बलात्कार गरेको महिलाले आरोप लगाएकी छन्। 

यस्तो छ घटनाको अन्तरकथा 

कैलाली घर भएकी पीडित महिला पुर्चौडीमा ज्याला मजदुरीको काम गर्दै आएकी थिइन्। उनी पुर्चौडी नगरपालिका १ स्थित इलाका प्रहरी चौकी पुरघाटको भवन निर्माणको काम गर्थिन्। उनीसँगै उनका श्रीमान पनि त्यहाँ काम गर्थे। उनीहरु दुवैजना त्यहाँ डेरामा बस्थे। यस्तै बैतडीकै डिलाशैनी गाउँपालिका स्थायी घर भएका क्याम्पस प्रमुख नेगी पनि पुर्चौडीमा डेरामै बस्थे।

पीडित भनिएकी महिला र नेगीको बसाइ नजिकै थियो। असार २० गतेको कुरा हो। पीडित महिलाका श्रीमान बिहानै काम विशेषले डडेल्धुरा आएका थिए। महिला डेरामा एक्लै थिइन्। रात परिसक्दा पनि उनका श्रीमान फर्किएका थिएनन्। रात छिप्पिदै थियो। अचानक ती क्याम्पस प्रमुख ढोकामा आएर पानी माग्न थाले। महिलाले पानी दिइन्। पानी पिएर त्यसपछि उनी भित्रै पसे। त्यसपछि उनले ढोका बन्द गरेर महिलामाथि जर्वजस्ती गर्न थाले। उनले महिलाको मुख थुने र करणी गरे। तर, ती क्याम्पस प्रमुख त्यहाँबाट निस्किन नपाउँदै महिलाका श्रीमान डडेल्धुराबाट डेरामा पुगे। त्यहाँ पुगेपछि उनले त्यो दृश्य सबै आफ्नै आँखाले देखे र प्रहरीमा जाने निर्णय गरे।

(पीडित महिला र उनका श्रीमानसँगको कुराकानीमा आधारित) 

प्रहरीबाटै पीडितलाई धम्की

भोलिपल्ट बिहान उनीहरु सोही ठाउँको इलाका प्रहरी कार्यालय पुरघाटमा गए। प्रहरीले तीनै जनालाई सोधपुछका लागि बोलायो। सोधपुछ गर्ने क्रममा महिला र ती क्याम्पस प्रमुखले बलात्कार नभएको बताएको इलाका प्रहरी कार्यालय पुरघाटका प्रहरी नायव निरीक्षक (सइ) मोती बमले  बताए। उनले भने, ‘हामीले सोधपुछ गरेका थियौ। पीडित भनिएकी महिलाका श्रीमानले बलात्कार भएको भन्ने कुरा गरे। हामीले महिलालाई पनि सोध्यौ। तर, उनले त्यस्तो नभएको बताइन्। यस्तो घटनामा प्रहरीले महिलाकै बयानलाई आधार मान्दछ। हामीले फेरि चिफ सरलाई पनि सोध्यौ। उनले पनि बलात्कार नगरेको बताए।’ त्यसपछि प्रहरीले यो घटनालाई अघि नबढाएको उनको भनाइ छ। 

तर, पीडित महिलाले भने प्रहरीले झुटो बोलिरहेको दाबी गरेकी छन्। उनले दिनेशखबरसँग भनिन्, ‘मैले प्रहरीसँग पानी माग्ने बहानामा ती पुरुषले आफूमाथि बलात्कार भएको कुरा भनेकी थिए। तर, प्रहरी र ती क्याम्पस प्रमुखले मलाई धम्की दिएर पानी दिएको कुरा मात्रै बोल्नु भने। मलाई ज्यान मार्ने धम्की दिइएको थियो।’ त्यसपछि डराएर आफू केहीँ नबोली २२ गते नै कैलाली आएको उनको भनाइ छ। यस्तै श्रीमानले समेत मलाई गलत काम गरेको आरोप लगाउँदै छोडेर एक्लै कैलाली पुगेको ती महिलाको गुनासो छ। यस घटनाबारे जिल्ला प्रहरी कार्यालयले भने कुनै जानकारी नआएको जनाएको छ। 

बैतडीमा विज्ञप्ति ‘वार’

यहीँ घटनालाई लिएर बैतडीका विद्यार्थी संगठनबीच अहिले विज्ञप्ति ‘वार’ चलिरहेको छ। मजदुर महिलामाथि बलात्कार गरेको आरोप लगाउँदै तीन विद्यार्थी संगठनहरुले शनिबार विज्ञप्ति निकालेर कारवाही गर्न माग गरेका छन्। अनेरास्ववियु, नेविसंघ र अखिल (क्रान्तीकारी)ले संयुक्त विज्ञप्ति निकालेर महिलामाथि क्याम्पस प्रमुखले बलात्कार गरेको आरोप लागेकाले घटनाको सत्यतथ्य छानविन गर्न आग्रह गरेका हुन्। यस्तै अनेरास्ववियु (क्रान्तिकारी र अखिल (क्रान्तिकारी) ले अर्को विज्ञप्ति निकाल्दै क्याम्पस प्रमुख नेगीमाथि झुटो आरोप लगाएको दाबी गरेको छ। सामाजिक सञ्जालमा आएका कुरा प्रमाणित गर्न चुनौती दिँदै दुवै संगठनले क्याम्पस प्रमुखमाथिको आरोप पुष्टि गर्न भनेका छन्।

टेकसिंह धामी, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस