श्रीलंकाको बाटोमा नेपाल
-द्वारिकाप्रसाद उपाध्याय
'लंकामा सुन छ कान मेरो बुच्चै' भन्ने उखान आज आएर चरितार्थ भएको छ १ कुनै बेला ‘सुनको लंका’ का नामले परिचित सार्क सदस्यको राष्ट्र श्रीलंका यतिबेला गहिरो आर्थिक संकटमा फसेको छ।
श्रीलंकाको विदेशी ऋण एकातर्फ रेकर्डतोड उचाइमा पुगेको छ भने अर्कोतर्फ विदेशी मुद्राको भण्डार अहिलेसम्मकै निम्न स्तरमा पुगेको छ। अवस्था यतिसम्म गम्भीर बनेको छ कि मानिसहरुले खाने–पिउने सामानहरु खरिद गर्न सकिरहेका छैनन्। दिनानुदिन खस्किँदो अवस्थाका कारण श्रीलंका सरकारले आर्थिक संकटकालको घोषणा गर्नुका साथै सेना परिचालन गरेर खाद्य सामग्री वितरण गर्नुपर्ने अवस्था सिर्जना भएको छ। श्रीलंकाको विदेशी मुद्राको सञ्चिति रित्तिने अवस्थामा पुगेको छ। राष्ट्रिय मुद्राको मूल्य निरन्तर ओरालो लागिरहेको छ।
सामान्य अर्थमा भन्नुपर्दा एक वर्षमा वस्तु तथा सेवाको उत्पादनमा आउने वृद्धिलाई आर्थिक वृद्धि भनिन्छ। आर्थिक वृद्धि आर्थिक विकासको पूर्वसर्त हो। जसमा कुनै एक क्षेत्रको मात्र वृद्धि भएको हुँदा मात्र अर्थतन्त्रको समग्रतालाई समेट्न सक्दैन। त्यही भएर सबै क्षेत्रको वृद्धि नभए पनि आर्थिक वृद्धिदर उच्च हुन सक्छ। कुनै क्षेत्रको उत्पादनको वृद्धिले आयको वितरण हुन्छ तर आयको सबैमा समानुपातिक वितरण भएको हुँदैन। यसमा रोजगारी सिर्जना हुन्छ तर सबै क्षेत्रको वृद्धि नहुँदा पूर्ण रोजगारीको ग्यारेन्टी हुँदैन।
नेपाली अर्थतन्त्रमा बचत कमजोर हुँदै जाने र फजुल खर्च बढ्दै जाने अवस्था भइरहेको पछिल्लो समयमा व्यक्तिगत र समाजको खर्च गर्ने प्रवृत्तिले मुलुकको आयातमुखी अर्थतन्त्रमा थप बल पुगेको छ। अर्थतन्त्र आयातमुखी हुँदा यस वर्ष देशबाट करिब ३ खर्ब रुपैयाँ बहिरिएको छ भने नेपालीहरुले विदेशी चुईगम पट्काउन मात्र ४२ करोड़ खर्च गरेका छन्।
पैसा बाहिर पठाउँदा बैंकहरुले राष्ट्र बैंकसँग डलर किन्नुपर्ने र त्यसका लागि ठुलो रकम राष्ट्र बैंकमा जम्मा हुने गरेकाले सो रकम सिस्टममा आउन समस्या हुँदा बैंकिङ प्रणालीमा तरलताको समस्या भएको छ। जसले गर्दा बैंकको ब्याजदर अझै बढ्दै जाने संकेत अहिलेको अवस्थाले देखिन्छ। विदेशी मुद्रा सञ्चिति घट्दै गएको, आयात निरन्तर बढेको अवस्था छ। निर्यातले नधानेको अवस्था छ। रेमिटेन्स बढेको भए पनि आयातले नधानेको अवस्था देखिन्छ। विप्रेषणकै भरमा अर्थतन्त्र टिकाउन खोज्ने नेपालको नियति श्रीलंकाको जसरी नै कुनै पनि बेला तीव्र गतिमा ओरालिन सक्छ।
नेपालीहरुले सस्तो दरमा अनुदानमा ऋण सुविधा लिने तर अनुत्पादक क्षेत्रमा लगानी गरेका कारण अहिले अर्थतन्त्र समस्यामा परेको देखिन्छ। तीन वर्ष अगाडि श्रीलंकाको अवस्था पनि नेपालकै जस्तो थियो। उनीहरूले समयमा ध्यान नदिँदा अवस्था जटिल बन्न पुगेको हो। नेपालको अर्थतन्त्र पनि श्रीलंकाको बाटोमा जान नदिन तयारी गर्नुपर्ने टड्कारो आवश्यकता रहेको छ।
नेपालको अर्थतन्त्र जोगाउन श्रीलंकाबाट पाठ सिक्नुपर्ने देखिन्छ। श्रीलंकाको सङ्कट लामो समयदेखि वित्तीय सन्तुलन गुमाइरहेको परिस्थिति हो भने तुलनात्मक रूपमा नेपालको अवस्था बजेट व्यवस्थापन, खर्च प्रणाली र वित्तीय अवस्थासँग जोडिएको छ ।
श्रीलंकाको सङ्कट वित्तीय, आर्थिक र राज्य स्रोतमाथिको अराजकताका कारण निम्तिएको हो भने नेपालको अवस्था वित्तीय र आर्थिक संकट यति सानो देशमा कार्यकर्ता भर्तिकेन्द्रको प्रमुख थलो, संघियता नामको प्रदेश सरकारलाई पाल्नु पर्ने र पूर्वविशिष्टहरुलाई पनि दिइने विभिन्न सुविधाहरुले सङ्कटोन्मुख भएको देखिन्छ ।
अझै पनि ढिलो नगरी सरकारले निम्न कार्य गर्न सक्ने तत्परता देखाए नेपाल श्रीलंका हुनबाट बच्नेछः-
– केही अधिकार संघ र केही अधिकार स्थानीय तहमा दिई प्रदेश सरकार खारेज गर्ने,
– किप्टोकरेन्सी कारोबार हुने वेबसाइट तत्काल बन्द गर्ने,
– स्वदेशी वस्तु तथा सेवा आयातित वस्तुभन्दा ३० प्रतिशतसम्म महँगो हुँदा पनि स्वदेशी वस्तुको उपभोग, प्रयोग तथा प्रवद्र्धन गर्ने,
– राष्ट्र बैंकमा थन्किएको रकम न्यून ब्याजदरमा बैंकहरुलाई ऋण प्रवाह गर्ने,
– स्थानीय तहदेखि संघीय सम्मका सम्पूर्ण राजनीतिक दलका नेताहरूको बैंक खाताहरु बन्द गर्ने,
– हुण्डीबाट हुने कारोबार बन्देज गर्ने,
– वास्तविक किसानहरुलाई कार्यसम्पादन आधारमा मात्र अनुदान रकम उपलब्ध गराउने,
– अतिआवश्यक वस्तु तथा सेवा बाहेकका सामानहरुको आयातमा रोक लगाउन,
– राष्ट्र बैंकले डलर बिक्री गर्दा परिमाणात्मक कोटाको व्यवस्था गर्नुपर्ने,
– राष्ट्र बैंकले प्रतीत प्रत्र (Letter of Credit) को लिमिट तत्काल जारी गर्ने।
(लेखक वित्तशात्रमा स्नातकोत्तर गरी विगत १० वर्षदेखि अध्यापन गराउँदै आएका छन्।)