अपराधिक क्रियाकलाप र नियन्त्रणका उपाय
-अच्युत प्रसाद उप्रेती
अपराध एक सामाजिक अपराध हो। अपराधिक क्रियाकलापहरु समाजको विकाससँगै बढ्दै आएका छन्। विश्व जतिसुकै विकसित हुँदै गएपनि मानव समाजले अपराधिक पीडाबाट उन्मुक्ति पाउन सकेको छैन।
समाजका केही निश्चित व्यक्तिहरुका आपसी द्वन्दले समाजमा अनेक समस्या र विवाद उत्पन्न गराएको हुन्छ। मानिसका केही क्रियाकलापहरु मध्ये नकारात्मक क्रियाकलापहरु अपराधिक क्रियाकलापहरु हुन्। अपराध र अपराधीको उत्पत्ति समाजको विकासक्रम सँगै विकसित भएको पाइन्छ। परापूर्व देखिनै समाजमा अपराध र अपराधी विद्यमान भएको हुँदा यो समाजको उपज हो भन्न सकिन्छ।
प्राचिन समायमा हुने अपराधहरु हाल आएर अपराधको परिभाषाभित्र नपर्न पनि सक्छन्। भने, केहीभिन्न किसिमका अपराधहरु समाजको विकाससँगै लोप हुँदै गएको पाइन्छ। त्यसबेलाको समाज परम्परावादी र बढी धार्मिक भएकोले त्यसबेलाका केही अपराधहरु धर्म र परम्परासँग जोडिएका हुन्थे र त्यस्ता अपराधहरुमा सजाय गर्दापनि पुर्नजन्मका पापका कारणले भएको ठानि कठोर सजायको व्यवस्था गरिने परिपाटी रहेको पाइन्छ।
विश्व समाजको विकासँंगै त्यस्ता अपराधहरु लोपभएर गएका छन् भने अपराधका प्रकृति भने फेरिएका छन्। अपराध दिन प्रतिदिन बढदै गइरहेका छन्। अहिले अपराधका नयाँ नया रुपहरु देखापरिरहेको अवस्था छ।
अपराधअरु भविष्यमा निराकरण हुनको साटो अझ नयाँ रुपमा आउनसक्ने सम्भावना देखिन्छ। भविष्यमा पनि अपराधको स्वरुपमा परिवर्तन हुँदै जानेछ।
विश्वभर यस्ता अपराधलाई निराकरण गर्ने जस्तोसुकै प्रयासहरु भएपनि अपराधको नियन्त्रण सम्भव जस्तो नै देखिन्छ। समाज जति जति विकसित हुँदै जानेछ। अपराधका स्वरुपमा पनि परिवर्तन आउँदै जानेछन् जुन कठोर र गहन किसिमका हुनेछन्। परापूर्व कालदेखि हालसम्म समाजबाट अपराध नियन्त्रणका जस्तासुकै प्रयत्न भएपनि विश्व समाजले अपराधको नियन्त्रण भने गर्न सकेको अवस्था छैन। जसरी समाज दिन प्रतिदिन विकाशशिल, परिवर्तनशिल र गतिशिल छ त्यसरी नै अपराध पनि परिवर्तनशिल र सार्वभौम छ।
अपराध समाजको जटिल समाजिक रोग हो। प्रत्येक समाजमा आ–आफ्नै किसिमका कारणले गर्दा निरन्तर अपराध भइरहेका हुन्छन्। विश्वका कुनैपनि समाज अपराधविहीन हुन सकेका छैनन्। विश्वभर सबै राज्यबाट अपराधको नियन्त्रणका लागि आ–आफ्नो समाजमा विद्यमान अपराध र तिनका जघन्यताका आधारमा तथा भविष्यमा हुनसक्ने अपराधको परिकल्पना गरि कानुनको निर्माण गरिन्छ। त्यस्ता अपराधको परिभाषा गरि सोही बमोजिमको सजायको व्यवस्था गरिएको हुन्छ। जसअन्तरगत राज्यविरुद्धका अपराधहरु, महाअपराधहरु व्यक्ति विरुद्धका अपराधहरु, सम्पति विरुद्दका अपराधहरु, सामाजिक न्याय विरुद्धका अपराधहरु, अन्तराष्ट्रिय कानुनविरुद्धका अपराधहरुलाइ समावेश गरिएको हुन्छ।
अपराध हुनका लागि आवश्यक तत्वहरु पनि समावेश गरिएको हुन्छ। तर अपराध गर्नको लागि अपराधिक, भौतिक र मानसिक रुपमा समावेश भएको हुनुपर्दछ तबमात्र पूर्ण अपराध सम्भव छ। विभिन्न राज्यहरुले अपराध गर्दाको अवस्था हेरी अपराधको वर्गीकरण गरी सोही अनुरुप दण्ड सजायको व्यवस्था गरेको हुन्छ। जसअन्तरगत सामान्य कागज गरेर छाड्ने देखि आजन्म कारावास र मृत्युदण्डको सजाय हुनेगरी कानुनको निर्माण गरिएको हुन्छ।
तर जतिसुकै कठोर सजायको व्यवस्था गरेपनि समाजमा अपराध बढीरहेका छन्। अपराधमा कमी आउन सकिरहेका छैनन। बरु नयाँ किसिमका अपराधहरु हुने गरेका छन्। विश्वभर हुने सर्वेक्षणका नतिजाहरु हेर्दा अपराधमा कुनै किसिमको कमी आएको देखिदैन। बरु दिनदिनै वृद्धि भइरहेको देखिन्छ।
अपराधीले विज्ञानले गरेका नयाँ प्रविधिको प्रयोग गरि संगठनवद्ध तवरले आधुनिक हातहतियारको प्रयोगमा आफुलाई सुरक्षित बनाउँदै जघन्य प्रकृतिका अपराधहरु पुरा गर्न सक्षम हुदैआएका छन्। यस्तो अवस्थाले गर्दा अपराध र अपराधीको संख्यामा मात्र नभइ गुणात्मक संरचनामा पनि जघन्यतातर्फ परिवर्तन भएको देखिन्छ। यस्तो अवस्थामा कुनै पनि राज्यको कानुनी संयन्त्र अपराध नियन्त्रणमा अपराध भन्दा अगाडी रहन सकेको छैन। सधै अपराध कानुनभन्दा एक कदम अगाडीनै रहेको देखिन्छ। समाजको नकारात्मक पक्ष के हो भने अपराधिकताविरुद्द सामाजिक, आर्थिक, राजनीतिक र कानुनी दक्षता कमजोर हुदै आएको पाइन्छ।
अपराध रोकथामका लागि विश्व समुदायबाट अनेकौ प्रयास भएका छन्। तिमध्ये मुख्य २ ओटा उपाय अपनाउदै आएको देखिन्छ। अपराध गरेबाफत दण्ड सजाय र निरोधात्मक सिद्धान्तको व्यवस्था गरिएको हुन्छ। जसअन्तरगत मृत्युदण्ड, आजन्म कारावास, शारिरीक दण्ड, निर्वास वा स्थानान्तरण, सामाजिक बेइज्जति, जरिमाना, सर्वस्वहरण तथा अपराधीको पुनः सामाजिकरण गर्ने लगायतका सजायको व्यवस्था गरेको हुन्छ। निरोधात्मक सिद्धान्त अन्तरगत अपराध हुनुपूर्व अपराध नै नहुन दिन पर्दछन्।
अपराध रोक्न के गर्ने ?
-सम्भावित अपराधीलाई राज्यका अपराध नियन्त्रण गर्ने निकायबाट निगरानीमा राखि अपराध हुनसक्ने मुल स्थानहरुमा सुरक्षा सतर्कता बढाउँदै लगेर रोक्ने
-कुनै क्षेत्र, स्थान वा निश्चित वातावरणमा अपराधका कारकतत्व एवं अपराधका कारणलाई उत्प्रेरित गर्ने तत्वलाइ हटाउने तथा निस्तेज पार्ने र कमजोर बनाइने अपराधका सम्बन्धमा समुदाय स्तरवाटै जनचेतना अभिवृद्धि गर्ने
-प्राथमिक शिक्षादेखि नै अपराध सम्बन्धी पाठ्यपुस्तक निर्माण गरि त्यसभित्र अपराधका परिभाषा समावेश गरेर पठनपाठन गराउने र सम्भावित खतराबाट मुक्त पार्न प्रयास गर्ने
-समाजभित्र लगातार अपराधका विषयमा जनचेतनाका कार्यक्रम राज्यस्तरबाट नै चलाउने
-समाजभित्र भएका अपराधिक मनोवृतिका मानिसहरुलाइ राज्यबाट निगरानीमा राखी निजका बानीव्यहोरा सुधार्ने कार्य गर्ने र विगतमा भएका अपराध र अपराधीको आचरणमा सुधार आए नआएको विषयमा बेलाबेला राज्यस्तरबाट अध्ययन गरी आवश्यक पहल गर्ने
-अपराध गरेर सजाय पाइरहेका थुनुवा कैदीलाई अपराध अनुसार फरक–फरका कारावासमा राख्ने व्यवस्था गर्ने र त्यस्ता थुनुवा वा कैदीलाई कारागारभित्रै विभिन्न किसिमका सीपमुलक तालिमको व्यवस्था गर्ने
-अपराधीहरुले सजाय भुक्तान भइसकेपछि जीविकोपार्जनका लागि रोजगारी गर्नसक्ने वातावरण सृजना गर्ने
यसरी समाजमा हुने अपराधमा कमी आउन गइ केही हदसम्म अपराध नियन्त्रण गर्न सकिन्छ।
(उप्रेती कञ्चनपुरमा कार्यरत अधिवक्ता हुन्।)