सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको नगरसभा ७ घण्टासम्म अल्झाउने त्यो फोनकल !

२०७९ असार २१, १२:०४ कमल सावद

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाको आठौं नगर सभाको दोस्रो बैठकमा राजस्व व्यय अनुमानसहितको बजेट व्यक्तव्य पेश भयो। नगर सभामा उपप्रमुख कन्दकला कुमारी रानाले पेश गरेको बजेटमा अनौपचारिक छलफल तथा बजेट मिलानका लागि १० दिनको समय दिइयो। सोही नगर सभाबाटै असार २० गते आठौँ नगर सभाको तेस्रो बैठक डाँकियो।

नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधि योजना तथा बजेट मिलानमा व्यस्त भए। नगर प्रमुख गोपाल हमाल धार्मिक यात्रामा गए। १० दिनको समयमा ठूला होटलहरुमा धनगढी उपमहानगरपालिकाको बजेटको प्राथामिकता, सीमा, योजनाहरुका लागि विनियोजन गर्ने रकम तथा कुन शाखाका लागि कति बजेट विनियोजन गर्ने विषयमा छलफल भयो। यो अवधिमा विभिन्न बैठकहरु पनि बसे।

असार २० गते सोमबार दिउँसो १ बजेका लागि बोलाइएको आठौँ नगर सभाको तेस्रो बैठकको कारबाही ढिलोगरी मात्र सुरु भयो। दिउँसो १ बजेका लागि बोलाइएको बैठक झण्डै २ बजे सुरु भयो। नगर प्रमुख र उपप्रमुख ढिलोगरि मात्र सभामा पुगेका थिए। सभाको कारबाही सुरु हुने बित्तिकै उपप्रमुख कन्दकलाकुमारी रानाले गुनासो गर्न सुरु गरिन्। उपप्रमुख रानाले लिखित २० बुँदे गुनासो नगर प्रमुख र प्रमुख प्रशासकिय अधिकृतसमक्ष राखिन्। सोही विषयमा नगर प्रमुख हमाल र उपप्रमुख रानाबीच दोहोरी नै चल्यो। त्यो सबै नगर सभाका उपस्थित सदस्यहरु, कर्मचारीहरु तथा पत्रकारहरु हेरिरहेका थिए। नगर उपप्रमुख रानाले बजेटमा आफ्नो सहभागिता नरहेको गुनासो गरिरहेकी थिइन्। नगर प्रमुख हमालले उनलाई कुन-कुन विषयमा विमती हो भनेर सोधिरहेका थिए। हमालले उनलाई बुँदागत रुपमै बताउन भनेका थिए। तर रानाले बुँदागत कुनै विषय नगर सभामा सुनाइनन्।

तर प्रमुख प्रशासकिय अधिकृतलाई बुझाएको योजनाहरुको सूचीतिर उनी निरन्तर संकेत गर्दै विरोध गरिरहिन्। एमालेबाट विजयी नगर सभाका सदस्यहरुले उपमेयरको विरोधमा सहयोग र सर्मथन गरे। एक जना नगर सभा सदस्यले कुर्सी उचालेर फाले। नगर सभामा अशान्तिको वातावरण उत्पन्न भयो। नेपाली काँग्रेसबाट विजयी नगरसभा सदस्यहरुले एमालेबाट विजयी नगरसभा सदस्यहरुले ताण्डव देखाएको आरोप समेत लगाए।

नगर सभाको बैठक उपमहानगरपालिकाको आधिकारिक फेसबुक पेजबाट लाइभ भइरहेको थियो। लाइभमै उपमेयरलाई निर्देशन दिने फोन पटक-पटक आउने गरेको देख्न सकिन्थ्यो । नगर उपप्रमुख रानाको दाँयातिर बसेका मेयर हमाल फोन आएको विषयमा जानकार थिए। चार फिटको दूरीमा रहेका प्रमुख प्रशासकिय अधिकृत रामलाल श्रेष्ठले पनि नगर उपप्रमुख कन्दकला कुमारी रानाको २० बुँदे आरोपका विषयमा जानकारी भयो। त्यसपछि नगर प्रमुखले साढे ५ बजे आधा घण्टाका लागि नगर सभा स्थगित गरे। नगर उपप्रमुखको गुनासो सुन्ने भन्दै नगरसभा स्थगित गरिएको थियो।

तर नगरसभाको बैठक स्थगित गरेपछि उनीहरुबीचमा छलफल भने भएन। पुनः ६ बजे नगरको बैठक सुरु भयो। तर, नगर उपप्रमुखसहित एमालेको अवरोध रोकिएन्। बजेटमाथिको छलफल सुरु नहुँदै विरोध सुरु गरेका उनीहरुले त्यसलाई निरन्तरता दिए। सोही क्रममा नगर उपप्रमुखको मोबाइलमा पनि पटक-पटक फोन आइरहेको थियो। उपप्रमुख रानाले उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतलाई दिएका योजनाहरु समावेश नभएको आरोप लगाइ रहिन्। पूर्वाधार तिरका ठूलो रकमका योजनाहरु नगर उपप्रमुखले माग गरेको प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठ बताउदै थिए।उनी भन्दै थिए, 'उहाँका योजनाहरुका लागि अर्काे बजेट चाहिन्छ।'

सोमबार झण्डै ७ घण्टा नगर सभामा बजेटमाथि छलफल भयो। पूराना ठेक्का गरिएका योजनाहरुको ऋण तिर्ने नीति लिएको उपमहानगरापलिकासँग नयाँ योजनाका लागि बजेट थिएन। त्यसैबीच उपमहानगरपालिकाकामा सेवाग्राहीका लागि प्रतिक्षालय र सामुदायिक पशु व्यवस्थापनका लागि विनियोजन गरिएको बजेटबाट रकम काट्न र नगर उपप्रमुखका योजनाहरु समावेश गर्न नगर प्रमुख हमालले प्रस्ताव गरे। तर नेपाली काँग्रेसबाट विजयी नगर सभा सदस्यहरुले त्यो प्रक्रियागत नहुने भन्दै विरोध गरे। उनीहरुले वडा भेलाबाट छनोट गरेका योजनाहरु नगर सभाबाट पारित हुनुपर्ने अडान लिए। ठेक्का भएका पूराना योजनाहरु सबै वडामा रहेकाले सबै पार्टीका वडाध्यक्ष तथा उपप्रमुखका योजनाहरु पनि बजेटमा समावेश भएका उनीहरुको तर्क थियो। तर नेकपा एमालेबाट विजयी नगरसभा सदस्यहरुले विरोध जारी राखे।

तर माओवादी केन्द्रबाट विजयी नगर सभा सदस्यहरु भने मौन थिए। नगर उपप्रमुखको फोनमा भोलिका लागि नगर सभाको बैठक स्थगित गर्न आग्रह गर्न सुझाव आउँदै थियो। नगर उपप्रमुखको फोनमा शक्ति केन्द्रको फोन आएको अन्य वडाध्यक्ष तथा नगर सभा सदस्यहरुले जानकारी पाइसकेका थिए। उनीहरुले नगर सभाको बैठकबाट बजेट पास गर्नुपर्ने अडान राख्न थाले। धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष बुद्धि खड्काले बजेट पास भएको घोषणा नै गरे। त्यसपछि काँग्रेसबाट विजयी नगरसभा सदस्यहरुले ताली बजाए। तर, नगर उपप्रमुखको विरोध भने जारी थियो।

नगर प्रमुख हमालले नगरसभा सदस्यहरुलाई निर्णय लिन भने। एमाले बाहेकका नगरसभा सदस्यहरुले बजेट पास गर्नुपर्ने दबाब दिए। त्यसपछी नगर प्रमुखले बहुमतमा बजेट पास भएको घोषणा गरे। नगर उपप्रमुख कन्दकला कुमारी रानाले विरोध गर्दै थिइन्। उनको मोबाइलमा फोन आउँदै थियो। बजेट पास भएको घोषणापछि नगर प्रमुख हमालसहितका नगर सभा सदस्यहरु बाहिर आए। उनीहरु आपसमा प्रतिनिधि सभा सदस्य नारदमुनी रानलाई लक्षित गर्दै भन्दै थिए, 'शक्तिकेन्द्रको दबाब यस्तो हुँदो रहेछ। शक्तिशाली फोन कसको भनेको त, नारदको पो रहेछ।' त्यसपछि उनीहरु आपसमा मजाक गर्दै आ-आफ्नो बाटो लागे।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस