बैतडीमा चितुवा आतङ्क
धनगढी: बैतडीमा चितुवाले आतङ्क मच्चाएको छ। जिल्लाको सुर्नया गाउँपालिका-८ का विभिन्न स्थानमा गएको दुई महिनायता चितुवाले आतङ्क मच्चाएको हो।
स्थानीयका अनुसार ४/५ ओटा चितुवा समूहमा आएर घरपालुवा पशु खाने गरेको र अहिलेसम्म दुई दर्जन बढी पशुचौपाया खाइसकेका छन्। रातिको समयमा गोठमा बाँधेका पशु चितुवाले खान थालेपछि किसानहरु चिन्तित र त्रसित भएका छन्।
सो वडाको मल्लोढोले, सेला लगायतका क्षेत्रमा चितुवाले आतङ्क मच्चाएको उक्त वडाका अध्यक्ष भानबहादुर बोहराले बताए। उनका अनुसार चितुवा आतङ्क नियन्त्रणका लागि डिभिजन वन कार्यालयसँग छलफल गरिएको भएपनि समाधानको उपाय निकाल्न नसकिएको हो।