सुदूर नेपाललाई विश्वसँग जोड्दै

युक्रेनको लिसिचान्स्क सहर सहित लुहान्स्क क्षेत्र कब्जा गरेको रुसको दाबी

२०७९ असार १९, ०८:४६ खबर संवाददाता

रुसले पूर्वी युक्रेनको लिसिचान्स्क सहर कब्जा गरेको दाबी गरेको छ। रुसी रक्षा मन्त्रालयले विज्ञप्ति निकालेर रुसी फौजले लिसिचान्स्क सहर कब्जा गरेको बताएको बीबीसीले जनाएको छ।

यसअघि बिहान रुसी रक्षा मन्त्रालयले लिसिचान्स्कलाई पूरै घेरेर सहरभित्र आक्रमण गरिरहेको बताएको थियो। यो सहरसँगै युक्रेनको लुहान्स्क क्षेत्र नै रुसको कब्जामा आएको रुसी रक्षा मन्त्री सर्गेई शोइगुले निकाल्नुभएको विज्ञप्तिमा उल्लेख छ। 

तर युक्रेनी रक्षा मन्त्रालयका प्रवक्ता युरी साकले रुसी दाबीको खण्डन गर्दै लिसिचान्स्क सहरको अवस्था अत्यन्तै जटिल भए पनि रुसको कब्जामा भने गइनसकेको बताउनुभएको बीबीसीले जनाएको छ। 

उनले तत्कालको क्षति कम गर्न आफूहरू केही पछि हट्न सक्ने भए पनि त्यसलाई चाँडै फिर्ता लिन सक्ने बताए। 

यसैबीच रुसले सीमा क्षेत्रमा रहेको बेल्गोरोड सहरमा युक्रेनले मिसाइल आक्रमण गरेको आरोप लगाएको छ। रुसी सहर बेल्गोरोडमा विस्फोट हुँदा तीन जनाको ज्यान गएको छ भने ११ वटा अपार्टमेन्ट र ३९ वटा घरमा क्षति पुगेको छ।

रुसी रक्षा मन्त्रालयका प्रवक्ता गोर कोनाशेन्कोभले रुसी सहरको आवासीय क्षेत्रमा युक्रेनले नियोजित रूपमा मिसाइल आक्रमण गरेको बताउनुभएको बीबीसीले जनाएको छ। बेल्गोरोड सहर युक्रेनी सीमाबाट ४० किलोमिटर टाढा पर्छ। 
 

कमेन्ट लोड गर्नुस