बैतडीमा भारतीय व्यापारीले ५० लाख ठगेर भागेपछि...
धनगढीः बैतडीमा एक भारतीय नागरिकले ५० लाख बढी रकम ठगेर भागेको खुलेको छ। बैतडीमा करिब १५ वर्ष बसेर व्यवसाय गरेका व्यापारी गुल्फाम ठगी गरेर एक वर्षदेखि फरार भएका हुन्।
भारतमा रुई कम्पनी लिलाम भइरहेको र आफूले किन्ने भन्दै चार वर्षअघि बैतडीका व्यक्तिहरूबाट ५० लाख ऋण निकालेर लगेका उनले कसैलाई पैसा फिर्ता दिएका छैनन्। गुल्फामले बैतडीमा सैलुन, श्रृंगार, खेलौना, सिरक र मोबाइल पसल सञ्चालन गरेका थिए। गुल्फामले एकै जनाबाट १९ लाख रकमसम्म लिएका छन्। आफ्नो पाँच लाख रकम ठगेको युनिक सिलाई सेन्टर गोठलापानीका सञ्चालक दिनेश सिनालले बताए। पाँच लाखको आफूले बैंकलाई करिब चार लाख व्याज मात्र तिरिसकेको, तर आफ्नो पैसा उठ्ने अत्तोपत्तो नभएको सिनाल बताउँछन्।
बैतडीमा रहँदासमेत गुल्फामले जुवा तास खेल्ने र खेलाउने समेत गरेका थिए। उनले बैतडीकै युवतीसँग विवाह गरेका थिए। अहिले दुवैजना फरार छन्। यस विषयमा प्रहरीमा भने मौखिक जानकारी मात्र आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता लोकराज जोशीले बताए। भारतीय व्यापारीहरूले सिरकको रुई भित्र लुकाएर ड्रग्सको सप्लाई गर्ने गरेको स्थानियवासी बताउँछन्।