सुदूर नेपाललाई विश्वसँग जोड्दै

डिलाशैनी गाउँपालिकाको बजेट सवा ६२ करोड, प्राथमिकतामा कृषि र स्वास्थ्य

२०७९ असार १८, ०१:४६ खबर संवाददाता

धनगढीः बैतडीको डिलाशैनी गाउँपालिकाले शुक्रबार आर्थिक बर्ष २०७९–८०को बजेट सार्वजनिक गरेको छ। पालिकाले आर्थिक बर्ष ०७९–८० का लागि ६२ करोड ३५ लाख ५९ हजार रकमको बजेट ल्याएको हो।  बजेटमा कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको गाउँपालिका प्रवक्ता यज्ञराज भट्ट (यदु) ले बताए।

उनले भने, ‘हामीले बजेटमा शिक्षा र स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राखेका छौँ। कृषि र पशु पालनलाई व्यवसायीकरण गरेर नागरिकको आर्यआर्जन वृद्धि गर्न बजेट छुट्याएका छौँ।’ आर्थिक विकासको योजनालाई प्राथमिकता दिएको उनले बताए। गाउँपालिकामा चिकित्सकीय सेवा प्रदान गर्न एक जना डाक्टर र एक जना जनस्वास्थ्य अधिकृतको व्यवस्था गरिने बजेटमा उल्लेख छ। माध्यमिक तहका १२ ओटै विद्यालयमा एक एक जना स्वास्थ्यकर्मीको व्यवस्था गरिने गाउँपालिकाले जनाएको छ। विद्यालयमा स्वास्थ्यकर्मी कार्यक्रमअन्तर्गत विद्यार्थीको नियमित स्वास्थ्य परीक्षण गरिने समेत उल्लेख छ। यसैगरी, स्वास्थ्य स्वयसेविकाहरूलाई विशेष भत्ता सुविधासहित परिचालन गर्ने कार्यक्रम बजेटमा उल्लेख रहेको छ।

जेष्ठ नागरिकका गुनासा, अनुभव र सुझाव ग्रहण गर्न बाजेको अर्तिु कार्यक्रम राखिएको छ। यसैगरी, युवासँग अध्यक्ष कार्यक्रम समावेश गरिएको छ।  गाउँपालिकाको पारदर्शिताका लागि सूचना प्रविधिको विकास गर्न भन्दै एफएम रेडियो र पत्रिका सञ्चालन गर्ने कुरा बजेटमा उल्लेख छ। सहिद परिवारलाई मासिक तीन हजार रकम भत्ता दिने कार्यक्रम तय गरिएको छ। गाउँपालिका स्तरीय कृषि नर्शरी स्थापना गर्ने, कृषक संग कृषि प्राविधिक कार्यक्रम सञ्चालनमा ल्याए उत्पादमा वृद्धि गर्ने कार्यक्रम तय गरिएको छ।

पशुपालनतर्फ बाख्रा पालन, कुखुरा तथा कालिज पालन र माछा पालन गर्ने कृषकका लागि बजेटको व्यवस्था गरिएको छ। 

कमेन्ट लोड गर्नुस