सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका २४४ जना कर्मचारीको जागिर धरापमा !

२०७९ असार १६, ०४:४१ कमल सावद

धनगढीः कैलालीको गौरीगंगा नगरपालिकामा अस्थायी, करार तथा दैनिक ज्यालादारीमा गरेर एक सय ५४ जना कर्मचारी काम गर्दै आएका छन्। पूर्व नगरप्रमुख भीमबहादुर देउवाको कार्यकालमा उनीहरुलाई विभिन्न पदमा भर्ना गरिएको थियो। तर,  नवनिर्वाचित नगर प्रमुख देवीदत्त कँडेल आएपछि उनीहरुको जागिर धरापमा परेको छ।

उनीहरुलाई साउन १ गते अर्थात नयाँ आर्थिक वर्षबाट काममा नआउन भनिएको छ। गौरीगंगा नगरपालिकाका नगर प्रमुख कँडेलले भने आवश्यकता आधारमा कर्मचारी हेरफेर गर्ने बताएका छन्। 

कैलालीकै घोडाघोडी नगरपालिकामा ९० जना कर्मचारी अस्थायी, करार तथा ज्यालादारीमा कार्यरत रहेका छन्। उनीहरुलाई पनि साउन १ गतेदेखि काममा नआउन भनिएको छ। तर नगर प्रमुख रावतले भने कर्मचारीलाई नचलाउने बताएका छन्। उनले भने, ‘कर्मचारीलाई हटाउने हैन। प्रक्रियाका लागि सूचना सार्वजनिक गरिएको हो। कार्यपालिकाबाट निर्णय हुन्छ।’

कैलालीका स्थानीय तहका जप्रतिनिधिले कार्यकर्ता तथा आसेपासेहरुलाई जागिर लगाएका छन्। तर, उनीहरुको पार्टी यो निर्वाचनमा विजयी नभएपछि दुवै नगरपालिकामा राखिएका २४४ कर्मचारीको पद धरापमा देखिएको छ। नगरपालिकाले भने उनीहरुलाई राख्ने वा हटाउने विषयमा नगर कार्यपालिकाको बैठकबाट निर्णय लिने बताएका छन्। 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस