सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारका मन्त्री र सांसदलाई पार्टी प्यारो

२०७९ असार १४, ०३:५९ कमल सावद

धनगढीः आगामी आर्थिक वर्ष २०७९/८० का लागि सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते प्रदेश सभामा बजेट पेश गरिसकेको छ। प्रदेश सरकारका आर्थिक मामिलामन्त्री प्रकाश रावलले बुधबार प्रदेश सभामा ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपैयाँको बजेट पेश गरेका हुन्। तर, बजेट पेश भएपछि एक दिन मात्र प्रदेश सभा सञ्चालन भएको छ।

सुदूरपश्चिम सरकारको कारण पटक–पटक प्रदेश सभाको बैठक स्थगित हुँदै आएको सभामुख अर्जुन थापाले बताए। उनले भने, ‘हाल १६ गतेको लागि स्थगित गरेको छ। पहिला ८ गते थियो। पछि १२ को कुरा भयो। १२ बाट १६ कुरा भएको छ। मन्त्री नआएर हैन। मन्त्री यतै छन्। सरकारले पर–पर सार्न भनेको छ। तर, कारण खै के हो ?’

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबाट बनेका मन्त्री तथा प्रदेश सभा सदस्यहरु हाल काठमाडौंमा छन्। माओवादी र समाजवादी पार्टीको केन्द्रीय कमिटीको बैठककै कारण प्रदेश सरकारको बजेट माथिको छलफलले प्राथामिकता नपाएको हो। नेकपा एमालेका प्रमुख सचेतक लिलाधर भट्टले सरकारले प्रदेश सभाको बैठक सञ्चालनमा बेवास्ता गरेको बताएका छन। उनले भने, ‘उहाँहरुको काठमाडौंमा कार्यक्रम छ। छलफलका लागि कार्यसूची पनि छैन। सरकारको सदनलाई अनलटाल गर्ने, बजेट पास गर्ने योजना छ।’ 

सुदूरपश्चिम सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री रणबहादुर रावलले पनि नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरु काठमाडौंमा रहेकाले प्रदेश सभाको बैठक स्थगित हुँदै आएको बताए। मन्त्री रावलले भने, ‘माओवादीको केन्द्रीय अधिवेशन, समाजवादी पार्टीको केन्द्रीय अधिवेशन। मान्य ज्यू, मन्त्री ज्यू यता नभएकाले सारेका हौं। पार्टीको आन्तरिक कार्यक्रमले समस्या भएको हो। काँग्रेसका सबै यतै छौं।’

सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीहरुले प्रदेशको बजेट भन्दा पार्टीको कार्यक्रमलाई प्राथामिकता दिएका छन्। उनीहरुले एक पटक पनि प्रदेश सभामा बजेट माथिको छलफलमा भाग लिएका छैनन्। १९ गते माओवादी केन्द्रको केन्द्रीय बैठक रहेकोले १६ गते पनि प्रदेश सभा सञ्चालन हुने निश्चित छैन। 

यसरी प्रदेश सभामा पेश भएको बजेटमाथि छलफल हुनुपर्ने समयमा प्रदेश सभाको बैठक स्थगित हुँदै गरेको छ। सांसद र मन्त्रीहरुका लागि पार्टीको केन्द्रीय कमिटीको बैठक प्राथमिकतामा पर्दा प्रदेश सभाको बिजनेस भने प्रभावित भएको बनेको छ। 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस