सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका भूमिहीनले कहिले पाउँछन् जग्गाधनी पुर्जा ?

२०७९ असार १४, ०८:१५ रोशन भट्ट

धनगढीः भूमिसम्बन्धी समस्या समाधान गर्न गठिन आयोगले कैलालीको धनगढीमा लालपुर्जा वितरणको काम गत चैत २५ गतेबाट सुरु गरेको थियो। जसअन्तरगत उपमहानगरपालिकाको वडा नम्बर ९ का २२ परिवारलाई लालपुर्जा वितरण गरिएको छ।

अहिले सोही वडामा लगत संकलन भएको जग्गाको नापजाँचको काम जारी छ। योसँगै धनगढीकै वडा नम्बर ११ र १३ मा समेत नापजाँचको काम जारी छ। उक्त नापजाँचको काम सकिएपछि लालपुर्जा वितरण गर्ने कार्य सुरु हुने भूमि आयोग कैलालीका अध्यक्ष यज्ञराज उपाध्यायले बताए। ‘हामीले गत चैत २५ बाट नै लालपुर्जा वितरणको काम सुरु गरेका थियौं। अहिले धनगढीमा नापजाँचको काम भएरहेको छ’ उनले भने।

कैलालीका अन्य चार स्थानीय तह गोदावरी, कैलारी, भजनी र लम्कीचुहा नगरपालिकामा पनि नापजाँचको काम भइरहेको छ। भूमिहिन नागरिकलाई जग्गा धनीपुर्जा वितरण गर्नका लागि यी पाँच स्थानीय तहमा सबै प्रक्रिया अन्तरगत काम भइरहेका हो। जसअन्तरगत सयौं नागरिकले उपभोग गर्दै आएको जग्गा लगत संकलनको काम जारी छ। निस्सा अर्थात प्रमाण वितरणको काम पनि भइसकेका कारण तत्काल लालपुर्जा वितरण हुने दाबी आयोगको छ।

जिल्लाका अन्य ८ स्थानीय तहमा भने अहिले लगत संकलनको काम जारी छ। जिल्लाको गौरीगंगा, घोडाघोडी, बर्दगोरीया, टीकापुर, जानकी, जोशीपुर, चुरे र मोहन्यलमा लगत संकलनको काम भइरहेको हो। उक्त लगत संकलन पनि निस्सा वितरण हुने भूमि आयोग कैलालीका अध्यक्ष उपाध्यायले बताए। ‘जिल्लाका ८ स्थानीय तहमा लगत संकलनको काम भइरहेको छ,’ उनले भने, ‘अब छिट्टै सबै पालिकामा जग्गा धनि पुर्जा वितरणको कमा सुरु हुन्छ।’

आयोगले भूमि सम्बन्धी समस्या समाधान गरेपछि धेरै भूमिहिनहरुले जग्गा धनी पुर्जा पाउने भएका छन्। कैलालीमा भूमि सम्बन्धी समस्या विकरालको रुपमा देखिएको छ। तर, जंगल तथा सार्वजनिक जग्गा पनि व्यक्तिको नाममा दर्ता हुने जोखिम समेत छ।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस