सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारका योजना मन्त्रीका निर्वाचन क्षेत्रमा केन्द्रित

२०७९ असार १३, ०६:४५ नारायण अवस्थी

धनगढी: सुदूरपश्चिम प्रदेशमा मन्त्रीको निर्वाचन क्षेत्र र जिल्लामा प्रदेश सरकारका योजना केन्द्रित भएका छन्। आर्थिक वर्ष २०७९÷८० को बजेटको ठूलो अंश कैलाली र कञ्चनपुरका विभिन्न योजनामा हालिएको छ। 

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको सडक तथा भवन निर्माणको बजेट पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी र आर्थिक मामिला मन्त्री प्रकाश रावलको जिल्लामा परेका छन्। कैलाली र कञ्चनपुरमा आगामी आर्थिक वर्षका लागि ६५ प्रतिशत पूर्वाधारका योजनामा बजेट विनियोजन गरिएको छ। 

सुदूरपश्चिम सरकारले ल्याएको बजेटमा भौतिक पूर्वाधार विकास मन्त्रालयको सडक पूर्वाधार विकास तर्फको बजेट वितरणमा भौतिक पूर्वाधार विकास मन्त्री र आर्थिक मामिला मन्त्रीको गृह जिल्ला कैलाली र कञ्चनपुरमा पूर्वाधार विकासतर्फका ६ सय ९७ योजना समेटिएका छन्। 

जबकी वार्षिक विकास कार्यक्रम पुस्तिकामा प्रदेशभर सडक पूर्वाधारका १ हजार ६७ योजना समेटिएका छन्। जिल्लास्थित पूर्वाधार विकास कार्यालयले कार्यान्वयन गर्ने गरि तयार भएका ती योजनामा कैलाली र कञ्चनपुरमा अन्य जिल्लाको तुलनामा बढी बजेट राखिएको छ। प्रदेशका अन्य ७ जिल्लाको भन्दा कैलाली र कञ्चनपुरमा बजेट खन्याउने काम भएकोले यो बजेट सन्तुलित र समावेशी नभएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक लिलाधर भट्टले बताए।

‘यो सरकारले समावादी पार्टीका कार्यकर्तालाई फाइदा पुग्ने गरी बजेट ल्याएको छ,’ उनले भने, ‘ठेकेदारसँगको मिलेमतोमा ल्याइएको यो बजेटप्रति हाम्रो घोर आपत्ति छ, सदनमा यो विकृत बजेटविरुद्ध कडा अवाज उठाउछौँ।’ प्रतिपक्षी  दलका सांसदले मात्रै बजेटको विरोध नगरेर सत्ता पक्षका सांसदले पनि सेटिङमा बजेट ल्याउने काम भएको भन्दै खुलेर विरोध गरेका छन्। भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीको गृह जिल्ला कैलालीका ३ सय ६८ सडक निर्माणका योजनामा १ अर्ब ३ करोड ९४ लाख बजेट छ भने आर्थिक मामिला मन्त्री प्रकाश रावलको गृह जिल्ला कञ्चनपुरका ३ सय २९ सडक योजनामा १ अर्ब १३ करोड २० लाख बजेट विनियोजन गरिएको छ। 

यस्तै मुख्यमन्त्री त्रिलोचन भट्टको गृह जिल्ला डोटीमा १ सय ७ सडक योजनामा ६० करोड ७३ लाख बजेट राखिएको छ। सामाजिक विकास मन्त्री गोविन्दराज बोहराको गृह जिल्लामा ५१ सडक पूर्वाधारका योजनामा ३९ करोड ९४ लाख बजेट छ। उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामीको गृह जिल्लामा ३३ वटा सडकका योजनामा ५९ करोड ८५ लाख बजेट छ।  

मन्त्रीहरूले बजेट विनियोजनमा आफ्नो हात जगन्नाथ गरेको गुनासो प्रदेश सभा सदस्यले गरेका छन्। तर आर्थिक मामिला मन्त्री प्रकाश रावलले कैलाली र कञ्चनपुरमा बढी निर्वाचन क्षेत्र भएकाले सङ्ख्यात्मक हिसाबले बढी योजना परेको बताए। कैलाली र कञ्चनपुरमा १६ सांसद छन् त्यसैले पनि सबै सांसदका योजना समेट्दा संख्या बढेको हो,’ उनले भने, ‘बजेटको हिसाबले पहाडी जिल्लाका योजनामा कम पैसा छैन।’

हिमाली जिल्ला बझाङमा पूर्वाधार विकासका ६० योजना परेका छन्। सडक पूर्वाधारका ती योजनामा ३७ करोड बजेट छ। यसैगरी बैतडीमा ३६ सडक योजनामा ४२ करोड १३ लाख बजेट छ। अछाम जिल्लामा ६७ पुर्वाधार विकासका योजनामा ८८ करोड १३ लाख बजेट राखिएको छ। सबैभन्दा कम पूर्वाधारतर्फका योजना बाजुरामा छन्। त्यहाँ १६ वटा सडक योजनामा ४२ करोड ७५ लाख बजेट विनियोजन गरिएको छ। 

योजनाको संख्या कम भए पनि पहाडी जिल्लाका सडकमा बजेट बढी राखिएको दाबी मन्त्री रावले गरेका छन्।


 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस