सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा अधिकांश बिरामीलाई भाइरल ज्वरो, स्क्रब टाइफस पनि देखिन थाल्यो

२०७९ असार १३, ११:३७ खबर संवाददाता

धनगढी: बैतडीमा भाइरल ज्वरोका बिरामी बढेका छन्। जिल्ला अस्पतालमा उपचार गराउन आएकामध्ये बढीजसो बिरामी भाइरल ज्वरोका रहेका अस्पतालको ओपिडिमा कार्यरत अहेब लक्ष्मी गुरुले बताए।

उनका अनुसार अस्पतालमा अहिले दैनिक सय भन्दा बढी बिरामी भाइरल ज्वरोका आउने गरेका छन्। भाइरल ज्वरोका बिरामीमा बढी बालबालिकाहरु रहेको बताइएको छ। ज्वरो आउने, टाउको, घाँटी तथा हातखुट्टा दुख्ने लक्षणका बिरामी उपचारका लागि आउने गरेका जिल्ला अस्पताल बैतडीमै कार्यरत अर्का अहेब देवसिंह रावलले बताए।

उपचारका लागि आएकामध्ये कतिपयमा स्क्रब टाइफस समेत फेला परेको उनले बताए। आइतबार  मात्रै पनि उपचारका लागि अस्पताल पुगेका दुई जनामा स्क्रब टाइफस फेला परेको उनले बताए। मौसम परिवर्तनका कारण मानिसको शरीरमा अत्यधिक गर्मी भएकाले शरीर तातो नै रहेको बेला चिसो पदार्थ पिउनाले शरीरले तापक्रम अनुकूल रूपमा मिलाउन नसक्दा इन्फेक्सन भएर भाइरल ज्वरो हुने गरेको स्वास्थ्यकर्मीहरु बताएका छन्।

भाइरल ज्वरोका बिरामीलाई उमालेर  सफा पानी पिउन, खानपिन र सरसफाइमा विशेष ध्यान दिन स्वास्थ्यकर्मीले आग्रह गरेका छन्।

कमेन्ट लोड गर्नुस