सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी विमानस्थल बिस्तारः कहिले हुन्छ जग्गा अधिग्रहण ?

२०७९ असार १३, ०९:५८ रोशन भट्ट

धनगढीः धनगढी विमानस्थल बिस्तारको चर्चा सुरु भएको लामो समय भयो। पछिल्लो पटक संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा प्रेम आले नियुक्त भएपछि भने यस विषयले झन चर्चा पायो। गत पुस ११ गतेको बसेको नेपाल नागरिक उड्डयन प्राधिकरणको बैठकले पनि धनगढी विमानस्थलका लागि एक अर्ब बजेट विनियोजन गरेको थियो। बजेट विनियोजन भएपछि विमानस्थल बिस्तारको काम तत्काल सुरु हुने नागरिकले आशा गरेका थिए। 

तर, जग्गा सर्भेको काम सम्पन्न भएको बताउँदै आएको प्राधिकरणले अधिग्रहणको प्रक्रिया भने सुरु गर्न सकेको छैन। नागरिकले पटक–पटक जग्गा अधिग्रहणको माग गर्दै आएका भएपनि नागरिक उड्यन प्राधिकरणले बेवास्ता गरेको हो। धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले पनि जग्गा अधिग्रहणको प्रक्रिया तत्काल सुरु हुनुपर्ने बताएका छन्। ‘समयमा जग्गा अधिग्रहण भयो भने धेरै परिवारको कल्याण हुन्छ,’ उनले भने, ‘यो काम जति बढी हुन्छ त्यति नै प्रभावित हुनसक्ने परिवारको आर्थिक स्थिति कमजोर हुँदै जान्छ।’

धनगढी विमानस्थल बिस्तारका लागि दुई सय ५८ विघा जग्गा अधिग्रहण गर्नुपर्ने बताइएको छ। उक्त जग्गाको सर्भेसमेत भइसकेको छ। प्राधिकरणले नै उक्त जग्गा सर्भेको काम काठमाडौंको एक परामर्शदाता कम्पनीलाई दिएको थियो। तर, रिपोर्टसहितको अन्य फाइल प्रारम्भीक अधिकारीसम्म पुगेको छैन। उक्त फायल प्रारम्भीक अधिकारीसम्म पुगेपछि मात्रै मुआब्जा निर्धारण समितिलाई बुझाउनु पर्ने प्रावधान छ। 

त्यसपछि मुआब्जा निर्धारण गरेर वितरणको काम सुरु हुन्छ। तर उक्त फायल प्राधिकरणदेखि नै धनगढी विमानस्थल कार्यालयमा  नपठाएको प्रमुख रामकृष्ण भट्टले बताए। ‘जग्गा सर्भे गरेको कम्पनीले रिपोर्ट नै बुझाएको छैन होला,’ उनले भने, ‘सम्पूर्ण विवरणसहितको फायल यता आएपछि मात्रै मुआब्जा निर्धारण समिति सक्रिय हुन्छ।’

जग्गाका अधिग्रहणका लागि मात्रै अर्बौ बजेट आवश्यक पर्ने देखिएको छ। तर अहिलेसम्म प्राधिकरणबाट एक अर्ब बजेट मात्रै विनियोजन भएको छ। संघीय सरकारले आगामी वर्षको बजेटमा थप एक अर्ब ५ करोड बजेट उपलब्ध गर्ने जनाएको छ। तर उक्त बजेट ऋण प्राप्त भएपछि मात्रै धनगढी विमानस्थलले पाउने भएको छ। त्यसकारण जग्गा अधिग्रहणको प्रक्रिया सुरु भएपछि थप बजेट पनि आवश्यक पर्ने देखिन्छ। त्यसका लागि अहिलेबाट नै व्यवस्थापनमा लाग्न जरुरी छ। 

आइतबार मात्रै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीबाट राजीनामा दिएका प्रेम आलेले धनगढी विमानस्थल विस्तारको काम नरोकिने बताएका छन्। ‘अब जनताले हाम्रो घर जाने भयो, जग्गा जाने भयो हामीले मुआब्जा कहिले पाउने भन्ने दिन देख्न पर्दैन,’ उनले भनेका थिए, ‘मुआब्जा निर्धारण समितिले अब छिट्टै काम सुरु गर्छ।’

धनगढी विमानस्थल बिस्तारका लागि जग्गा अधिग्रहणको प्रक्रिया सुरु नहुँदा प्रभावित हुनसक्ने परिवारहरु भने समस्यामा छन्। जग्गा अधिग्रहण हुने चर्चा सुरु भएकै समयदेखि उक्त क्षेत्रमा विकास निर्माणको कामसमेत रोकिएको छ। भने, जग्गाको कारोबार पनि भएको छैन। जसकाकारण उक्त क्षेत्रका स्थानीयको दैनिकी नै प्रभावित हुने गरेको छ। 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस