सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका छाडा पशुचौपाया व्यवस्थापनका लागि उपमहानगरको यस्तो योजना 

२०७९ असार १२, ०४:२७ कमल सावद

धनगढीः कैलाली र कञ्चनपुरमा लामो समयदेखिको समस्याका रूपमा सामुदायिक पशुचौपायाको व्यवस्थापन रहेको छ।  पशु चौपायाका कारण सडक दुर्घटना हुँदै आएका छन् भने किसानको बाली पनि सखाप हुँदै आएको छ। रातिको समयमा पशुका कारण दुर्घटना हुने तथा किसानको बालीमा क्षति हुँदै आएको हो। 

अहिले धनगढी उपमहानगरपालिका आगामी आर्थिक वर्ष २०८९/८० लागि ल्याइएको बजेटबारे छलफल गर्दैछ।  शुक्रवार उपप्रमुख कन्दकला रानाले नगर सभामा एक अर्ब ८३ करोड ८९ लाख २४ हजारको बजेट पेश गरेकी थिइन्।
उपमहानगरपालिकाले सामुदायिक चौपायाको व्यवस्थापन साझेदारी निकायहरुसँगको सहकार्यमा गर्ने नीति पनि ल्याएको थियो। सामुदायिक पशुको व्यवस्थापनका लागि बजेट पनि विनियोजन गर्ने दाबी धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले गरे।  ‘ग्रामीण क्षेत्रमा किसानको बाली नष्ट हुने, सहरी क्षेत्रमा हाम्रा युवाहरु मोटरसाइकलमा गाई ठोकिएर मर्न थाले। मृत्यु दर हेर्नुभयो भने समस्याको रुपमा रहेको छ’ उनले भने। 

धनगढीमा १९ वटै वडाका पशुको व्यवस्थापनका लागि गौशाला निर्माण तथा निर्माण गरिएका गौशालामा पशुको व्यवस्थापनका लागि उपमहानगरपालिकाले योजना ल्याएको छ।  उपमहानगरपालिकाको वडा नम्बर ७ देवरिया र वडा नम्बर ३ मा गौशाला निर्माण गरिएका छन्। देवरियाको गौशाला उपमहानगरपालिकाले सञ्चालन गर्दै आएको छ भने वडा नम्बर ३ को गौशाला निजी क्षेत्रबाट सञ्चालनमा छ। 

अब उपमहानगरपालिकाको वडा नम्बर १४, १८ र १९ का लागि एक गौशाला, १५, १६ र १७ का लागि अर्काे र ६, ११ र १३ का सामुदायिक पशुचौपायाका लागि अर्काे गौशाला निर्माण गर्न बजेटको व्यवस्थापन गर्न लागेको नगरप्रमुख हमालले बताए।  ‘सामुदायिक पशुका कारण बालीको नोक्सान भएको छ। किसानहरुलाई समस्या परेको छ’ हमालले भने, ‘सडकमा छुटेकाहरुका कारण दुर्घटना हुने गरेको छ। युवाहरुको ज्यान जाने, युवाहरु अंगभंग हुने गरेका छन्। यो रोकथामका लागि योपालि हामीले विशेष काम गर्ने भएका छौं। बजेट विनियोजन गर्छाै।’

आर्थिक वर्ष २०७६/७७ मा कैलाली र कञ्चनपुर जिल्लामा गोठ, टहरा, गौशालालगायतका संरचना निर्माणका लागि बजेटसमेत विनियोजन गरिएको थियो। तर, धनगढी लगायतका सडक तथा ग्रामीण क्षेत्रका सामुदायिक पशुको व्यवस्थापन भएको छैन। 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस