सुदूर नेपाललाई विश्वसँग जोड्दै

एकल पुरुषलाई गाउँपालिकाले मासिक १ हजार भत्ता दिने 

२०७९ असार १२, १२:२५ खबर संवाददाता

धनगढीः पाल्पाको निस्दी गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ। एघारौँ गाउँ सभामार्फत नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गर्दै गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले पालिकामा बसोबास गर्ने ६० वर्ष उमेर पुगेका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्ने बताए।

साथै ‘ग’ वर्गको अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइने भएको छ। सरकारको नीतिअनुसार यसअघि ‘क’ र ‘ख’ वर्गको परिचयपत्र प्राप्त गर्ने अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध हुँदै आएकामा गाउँपालिकाले ‘ग’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्न लागेको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल सामाजिक सुरक्षा भत्ता कार्यक्रम नीति तथा कार्यक्रममा राखिएको र आगामी साउन १ देखि नै भत्ता दिन सुरु गरिने जानकारी दिए। उनका अनुसार कार्यविधि निर्माण साउन १ गतेबाटै मासिक रु एक हजारका दरले वितरण गरिनेछ।

गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि रु ६४ करोड ९८ लाख छ हजार ५७० बराबरको बजेटसहित गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिका अध्यक्ष सारुले आगामी पाँच वर्षभित्र निस्दीलाई अति कम विकसित गाउँपालिकाबाट विकासशील गाउँपालिकामा स्तरोन्नति गर्ने बताए।

कमेन्ट लोड गर्नुस