सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका विद्यालय र अस्पतालहरुमा कुलतविरुद्ध परामर्शको माग

२०७९ असार ८, ०७:०३ कमल सावद

धनगढीः सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीले मंगलबार नीति तथा कार्यक्रम पारित गरेको छ। नीति तथा कार्यक्रममा लागूपदार्थ दुव्र्यसन न्यूनिकरणका लागि समुदायस्तरमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्न सरकारी तथा गैरसरकारी संघ÷ संस्थाहरुसँग सहकार्य गर्ने उपमहानगरपालिकाले उल्लेख गरिएको छ। 

समुदायस्तरमा कार्यक्रम सञ्चालन गर्ने धनगढी उपमहानगरपालिकाले नीति ल्याएका बेला अस्पताल, परिवार, विद्यालय तथा पुनःस्थापना गृहमा परामर्शको सुविधा हुनुपर्ने माग गरिएको छ। धनगढीकी सञ्जु शाहीले धुम्रपान स्वास्थ्यका लागि अति हानिकारक हुने बताइन्। उनले भनिन्, ‘लागूऔषध नियन्त्रणका लागि हामी धुम्रपान केन्द्रीत हुनुपर्छ। स्कुलबाटै फोकस हुनुपर्छ। केही नियन्त्रणका लागि बेसिकबाटै जानुपर्छ। त्यो हो शिक्षा, युवाहरु धुम्रपान सेवन गरिरहेका हामी देख्न सक्छौं।’

सरकारको नीतिमा लागुऔषध प्रयोगकर्ताको संख्या कम गर्ने उल्लेख भए पनि कैलालीमा प्रत्येक वर्ष प्रयोगकर्ता वृद्धि हुँदै आएका छन्। भारतसँग सीमाना जोडिएकाले पनि कैलालीमा प्रयोगकर्ता वृद्धि हुँदै आएका हुन्। 

प्रहरीले लागूऔषधका प्रयोगकर्ता तथा कारोबारीलाई प्रक्राउ गर्दै आएको छ। तर, सुर्ती, चुरोट तथा मादकपदार्थ सहज रुपमा खरिद र प्रयोग गर्न पाउने भएकाले कुलतमा फस्ने युवाहरुको संख्यामा वृद्धि हुँदै गएको हो। विश्व स्वास्थ्य संगठनका सुदूरपश्चिम प्रतिनिधि डाक्टर प्रमोद भट्टले मध्यपानबाट मुक्त हुनका लागि पनि परामर्श केन्द्रको आवश्यकता रहेको बताए। उनले भने, ‘हामीसँग परामर्श केन्द्रहरु छैनन्। कुलतबाट बचाउन परामर्श आवश्यक छ।’

कुलतमा फसेका युवाहरुका लागि सुधार केन्द्रहरुमा परामर्शको सुविधा हुन्छ। तर कैलालीका अस्पताल, विद्यालय तथा समाजमा कुनै परामर्शको सुविधा छैन। कुलतमा फस्न नदिन परिवार र फसेकाहरुका लागि परामर्श केन्द्रहरु आवश्यक हुने प्रहरीले बताएको छ।

युवाहरु बेरोजगार हुने भएकाले सुर्ती, चुरोट गर्दै लागुऔषधको लतमा पुग्दै आएको तथ्यांक प्रहरीको छ। संघीय प्रहरी कार्यालय कार्यालयका प्रहरी उपरीक्षक अर्जुन राना भाटले लागुऔषधका प्रयोगकर्ताको संख्यामा वृद्धि हुँदै आएको बताए। ‘धेरै ठूलो बिकराल समस्याका रुपमा लागूऔषध छ’ उनले भने, ‘स्कुल जाने बालबालिकाहरु, बिस्तारै सुर्तीजन्य गुट्का, सुर्ती, गाँजा लगायत अन्य लागुऔषधको प्रयोग गर्छन्। दैनिक लागुऔषधका दुव्र्यसनीहरु पक्राउ पनि पर्ने गरेका छन्।’

परिवारको बेवास्ताका कारण पनि युवाहरु लागुऔषधको लतमा फस्ने गरेको प्रहरीको दाबी छ। कैलालीमा लागुऔषध कारोबारी र प्रयोगकर्ताको जालो निरन्तर फैलिँदै गएको छ। लागुऔषधको सहज उपलब्धताका कारण सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको जिल्लामा कारोबारी र प्रयोगकर्ताको जालो निरन्तर फैलिँदै गएको हो। प्रहरीले कारोबारी र प्रयोगकर्तालाई पक्राउ गरे पनि सहजै उन्मुक्ति पाउन थालेपछि लागुऔषधको जालो भत्काउन थप समस्या भएको छ। 

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बजार अनुगमन गर्ने बताएका छन्। सुर्ती र मदिरा बिक्रीलाई कानून सम्वद ल्याउने उनले बताएका छन्। 

भारतसँग सीमा जोडिएको जिल्लामा प्रत्येक वर्ष लागुऔषध प्रयोगकर्ताको संख्या वृद्धि हुँदै गएको सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालय मातहतको प्रादेशिक स्वास्थ्य प्रवदर्न केन्द्र कञ्चनपुरका प्रमुख हेमराज खड्काले बताए। उनले सबै क्षेत्रबाट कुलतमा फसेका युवाहरुको परामर्शका लागि योजना ल्याउनुपर्ने बताए। प्रदेश सरकारले पनि नीति तथा कार्यक्रममा लागुऔषध तथा कुलतको न्यूनिकरणका योजना अगाडि सार्दै आएको खड्काले बताए। 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस