सुदूर नेपाललाई विश्वसँग जोड्दै

यस्तो छ धनगढी उपमहानगरले ल्याएको नीति तथा कार्यक्रम

२०७९ असार ७, ०७:०१ कमल सावद

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकामा वैशाख ३० गते भएको निर्वाचनबाट विजयी भएका जनप्रतिनिधिले पहिलो नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्।  

नगरप्रमुख गोपाल हमालले मंगलबार पेश गरेको नीति तथा कार्यक्रममा केही नयाँ कार्यक्रमहरु ल्यइएका छन् त केही कार्यक्रमलाई निरन्तरता दिइएको छ। नगर प्रमुख हमालले पहिलो पञ्च वर्षीय आवधिक योजना २०७९/८० देखि २०८३/०८४ तर्जुमा गर्दै कार्यन्यवन गर्ने र ‘हाम्रो धनगढी हामी बनाउँछौ’ महाअभियान सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेका छन्। 

हमालले नगर सभामा पेश गरेको नीति तथा कार्यक्रममा उपमहानगरपालिका भित्रका सरकारी, सार्वजनिक तथा पर्ति जग्गा अतिक्रमण हटाउने अभियानलाई प्राथामिकता दिइएको छ। नीति तथा कार्यक्रममा उपमहानगरपालिकाको सडक बिस्तार लगायतका उपमहानगरपालिकाभित्र रहेका खोलानाला एवं तालतलैयाहरुको प्राकृतिक बाहवलाई यथावत कायम गर्न अतिक्रमण गरी बनाइएका घरटहरा लगायतका संरचनाहरु हटाएर त्यस्तो ठाउँको दायाँवायाँ पदमार्ग (करिडोर) निर्माण गर्दै लगिने उल्लेख गरिएको छ। 

यस्तै योजना बैँकमार्फत योजना तर्जुमा प्रक्रिया अगाडी बढ्ने उल्लेख गरिएको छ। उपमहानगरपालिकाले विभिन्न क्षेत्रको सहभागितामा नगर विज्ञ समूह गठनको नीति लिएको छ। उपमहानगरपालिकाले नगर विद्युतीय गुरुयोजना निमार्ण गरी लागू गर्ने भनेको छ। उपमहानगरपालिकाले स्वच्छ, स्वास्थ र हरित नगरका रुपमा विकसित गर्दै आर्थिक वर्ष २०७९/०८० लाई सरसफाई वर्षका रुपमा मनाउने नीति लिएको छ। 

कृषि तथा खाद्य
धनगढी उपमहानगरपालिकाले कृषि क्षेत्रको नीति तथा कार्यक्रमलाई प्राथामिकता दिएको देखिएको छ। एकीकृत कृषि रणनीति, व्यवसायिक कृषक पहिचान र परिचयपत्र, युवा लक्षित कृषि कार्यक्रम, शुन्य लागत प्रांगारिक खेती, कृषि उत्पादन वृद्धिका लागि गढ्यौला मल, जैविक मल उत्पादन तथा प्रयोगलाई प्रोत्साहन, सह र सुलभ कृषि ऋणका लागि पहल, बगर खेतीलाई प्रोत्साहन, एक वडा एक उत्पादन, सामुदायिक वनमा खेती, पुष्पखेती, तरकारी फलफूल र मगदाल व्यवसायिक उत्पादन कार्यक्रम सञ्चालन गर्दै दुई वर्षभित्र धनगढीलाई फूलमा आत्मनिर्भर बनाउने नीति धनगढी उपमहानगरपालिकाको छ। आलु, प्याज र लसुनमा अनुदान र आलुको बीउ उत्पादन र भण्डारमा पनि अनुदानको व्यवस्था कार्यक्रममा गरिएको छ। 

पशुपंक्षी क्षेत्र
पशुपंक्षी क्षेत्रमा उपमहानगरपालिकाले पूराना कार्यक्रमहरुलाई निरन्तरता दिएको छ। उपमहानगरपालिकाले पशु नश्लसुधार, सामुदायिक चौपायाहरुको व्यवस्थापन साझेदार निकायहरुसँगको सहकार्य, पशुपंक्षी बीमा कार्यक्रम, पशुसेवामा आयमुलक कार्यक्रम, दुध, मासु र अण्डामा आत्मनिर्भर हुने पशुपंछी व्यवसायलाई प्रवद्धन गर्ने नीति उपमहानगरपालिकाले लिएको छ। 

पर्यटन विकास 
उपमहानगरपालिकाले पर्यटन क्षेत्रमा गौरीफन्टा सीमा क्षेत्रमा स्वागतद्वार निर्माण, वडा नम्बर ७ मा निर्माण गरिएको थारु संग्रालय सञ्चालन, शिवपुरी, जाखोर ताल हुँदै बेहडाबाबासम्म साइकल ट्रयाक, जुगेडा गाउँलाई राना होमस्टे, सुन्दर सुदूरपश्चिमको पहिचना झल्किने वाल पेन्टिङ, आर्थिक तथा पर्यटकीय निश्चित क्षेत्र रातको समय सञ्चालन लगायतका पर्यटन क्षेत्रका कार्यक्रमहरु नगर सभाबाट पारित  भएको छ। हाम्रो परम्परा, हाम्रो संस्कृती संरक्षण र प्रवद्र्धन हाम्रो जिम्मेवारी लगायतका पर्यटन विकासका कार्यक्रमहरु सार्वजनिक गरिएका छन्।

 उद्योग, वाणिज्य तथा रोजगार
स्थानीयस्तरमै उद्योग दर्ता र सञ्चालनको कानून निर्माणको नीति उपमहानगरपालिकाले लिएको छ। धनगढीमा ठूला उद्योगहरुलाई सेवा सुविधा तथा राजश्वमा विशेष सहुलियतको नीति उपमहानगरपालिकाको छ। धनगढी सिटी हल, फूलबारी कोल्ड स्टोर, जडीबुटी प्रशोधन केन्द्र, कनरी पार्क, चिल्ड्रेन पार्क जस्ता संरचनाहरु सार्वजनिक नीजि साझेदारीमा सञ्चालनको नीति उपमहानगरपालिकाको छ। विदेश निर्यात हुने उत्पादनको बस्तुमा छुट दिने नीति उपमहानगरपालिकाको छ।  लघु उद्यमीहरुको उत्पादनलाई एक निःशुल्क विक्री कक्षको नीति लिइएको छ। 

शिक्षा तथा स्वास्थ्य
उपमहानगरपालिकाले स्वास्थ्य नगर, शिक्षित नगर, वार्षिक शैक्षिक कार्यक्रम कार्यान्वयन कार्यविधि, एक वडा एक खेल मैदान, नगर प्रमुख शैक्षिक सुधार कार्यक्रम, विषेशज्ञ वडा स्वास्थ्य क्लिनिक, नगर योगध्यान कार्यक्रम, एक वडा एक एम्बुलेन्स, निःशुल्क दन्त स्वास्थ्य परीक्षण शिविर, पूूर्वाधार एम्बुलेन्स, नगर यातायात गुरुयोजना, ट्राफिक लाइट जडान, १० लाख सम्मका योजनाको वडाबाटै भुक्तानि, भू–सेवा केन्द्र स्थापना लगायतका कार्यक्रम समेटेको छ।  
 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस