अर्थमन्त्री शर्मासँग विश्व बैंकका प्रबन्ध निर्देशकको शिष्टाचार भेट
काठमाण्डौँः अर्थमन्त्री जनार्दन शर्मासँग विश्व बैंकका प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले आज आइतवार शिष्टाचार भेटवार्ता गरेका छन्। अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले विश्व बैंकसँग लामो समयदेखि रही आएको सम्बन्ध र विकास साझेदारीको स्मरण गर्दै सहयोगको प्रशंसा गरे।
‘नेपालको विकास प्रयासमा विश्व बैंक लामो समयदेखि एउटा भरपर्दो साझेदार संस्थाका रूपमा रही आएको छ’, भेटमा उनले भने। विश्व बैंकले कोभिड–१९ पछिको परिस्थितिसँग जुध्न प्रदान गरेको १२२ मिलियन अमेरिकी डलर बराबरको वित्तीय सहयोगका लागि मन्त्री शर्माले धन्यवाद दिएको थियो। पछिल्लो समय नेपालका लागि विश्व बैंकको वित्तीय सहयोग उल्लेखनीयरूपमा बढ्दै गएको छ।
सन् १९६९ मा १६ दशमलव ९ लाख अमेरिकी डलरको वित्तीय सहयोगबाट नेपालसँग विश्व बैंकको सहकार्य सुरु भएको थियो। विश्व बैंकसँग अहिलेसम्म तीन अर्ब अमेरिकी डलर बराबरको २५ आयोजनामा सहकार्य भएको छ। केही महत्त्वपूर्ण आयोजना सम्झौताको चरणमा रहेको र अहिले सञ्चालित आयोजना निकै महत्त्वपूर्ण र दूरगामी प्रकृतिको रहेको मन्त्री शर्माले बताए।
‘विश्व बैंकसँगको वित्तीय सहकार्यमा सञ्चालित आयोजना समयमै सम्पन्न गरी त्यसको लाभ जनतालाई हस्तान्तरण गर्न हामी सबैको प्रयास रहनेछ’, मन्त्री शर्माले भने। त्यस अवसरमा आर्थिक वर्ष २०७९-८० को बजेट मूलतः आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित भएको उनले जानकारी गराएको थियो। ‘मैले भर्खर प्रस्तुत गरेको बजेटका माध्यमबाट अर्थतन्त्रलाई आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र बञ्चितीकरणबाट समावेशीतातर्फ लाने गरी प्रस्थान विन्दुका रूपमा उल्लेख गरेको छु’, उनले भने।
त्यस अवसरमाा विश्व बैंकका प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले बजेट समावेशी र सबै क्षेत्रलाई समेट्ने गरी आएकोमा खुसी लागेको बताए। उनले नेपालको विकास साझेदारका रूपमा सहभागी हुन पाउँदा खुसी लागेको बताउँदै आउँदा दिनमा पनि वित्तीय सहयोगमार्फत नेपालको समग्र विकास प्रणालीमा सहयोग पु¥याउने जानकारी गराएको थियो।