अमेजन जंगलमा भेटिएको शवको अवशेष बेलायती पत्रकार डम फिलिप्सको भएको पुष्टि
लन्डनः ब्राजिलको अमेजन जंगलमा भेटिएको दुईवटा मानव शरीरका अंगहरूमध्ये एक बेलायती पत्रकारको भएको पुष्टि भएको छ। ब्राजिली प्रहरीका अनुसार उक्त शवको अवशेष बेलायती पत्रकार डम फिलिप्सको पुष्टि भएको छ। फोरेन्सिक परीक्षणका क्रममा दाँतसम्बन्धी रेकर्डबाट उक्त शवको अवशेष उनकै भएको पुष्टि भएको छ ।
अर्को शरीर भने आदिवासीसम्बन्धी विज्ञ ब्रुनो पेरेइराको हुन सक्ने भन्दै अनुसन्धान भइरहेको बीबीसीले जनाएको छ। ५७ वर्षीय फिलिप्स र ४२ वर्षीय पेरेइरा हराएको खबर पहिलो पटक जुन ५ मा सार्वजनिक भएको थियो। यसै हप्ता उनीहरूको हत्यामा संलग्न भएको आशंका गरिएका व्यक्तिले शव गाडेको स्वीकार गरेका थिए । संदिग्ध व्यक्तिको पहिचान अमारिल्डो डा कोस्टा डि ओलिभेरियाका रूपमा भएको छ । प्रहरीले ती व्यक्तिले दुवैको हत्या गरेको स्वीकार गरेकोसमेत बीबीसीले जनाएको छ।
पत्रकार फिलिप्सले अमेजनमा दिगो विकाससम्बन्धी पुस्तक लेख्दै थिए भने पेरेइराले उनलाई सघाइरहेका थिए। दुवै जना ब्राजिलको सुदूरपश्चिममा रहेको जावारी उपत्यकामा हराएका हुन् जहाँ २० वटा समूहमा हजारौंको संख्यामा आदिवासीहरूको बसोबास रहेको छ। गन्तव्यमा पुग्न लागेकै बेला उनीहरू चढेको डुंगा कब्जामा लिइएको थियो। उक्त क्षेत्र अवैध रूपमा उत्खनन् गर्ने काठ तस्कर हुने क्षेत्रका रूपमा परिचित छ। -एजेन्सी