जानकी गाउँपालिकाले ल्यायाे ‘महाप्रस्थान यान’
धनगढी : जानकी गाउँपालिकाले दिवंगत व्यक्तिको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि घाटसम्म पुर्याउन सहजीकरण गर्ने उद्देश्यले ‘महाप्रस्थान यान’ भित्र्याएको छ।
मृत्युपश्चात् दिवंगत व्यक्तिको पार्थिव शरीरलाई सम्मानजनक रूपमा अन्तिम संस्कारस्थलसम्म पुर्याउन सहज होस् भन्ने उद्देश्यले गाउँपालिकाले उक्त यान भित्र्याएको हो। महाप्रस्थान यानको आपूर्ति गर्ने कम्पनीले गाउँपालिका अध्यक्ष गणेश चौधरीलाई यानको साँचो हस्तान्तरण गरेको छ।
साँचो हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लालमती कठरिया, कार्यपालिका सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत ज्योत्स्ना भट्ट जोशी लगायतको उपस्थिति रहेको थियो।
दुःखको घडीमा शोकसन्तप्त परिवारलाई सहयोग पुर्याउने उद्देश्यले ल्याइएको यस सेवाले अन्तिम संस्कारको प्रक्रियालाई सहज, व्यवस्थित र सम्मानजनक बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
महाप्रस्थान यान सञ्चालनमा आएपछि दिवंगत व्यक्तिको पार्थिव शरीरलाई घाटसम्म पुर्याउन स्थानीय परिवारलाई सहज हुने विश्वास गरिएको छ। गाउँपालिकाको यस पहलले नागरिकलाई आवश्यक सेवासुविधा उपलब्ध गराउनुका साथै सामाजिक तथा मानवीय उत्तरदायित्व निर्वाहमा समेत सहयोग पुग्ने महसुस गरिएको छ।