सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका ४१ हजार उद्योगमा ४७ अर्ब लगानी

२०७९ असार ४, ०१:२३ खबर संवाददाता

वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिम प्रदेशभित्र चालु आर्थिक वर्षको ८ महिनामा मात्र एक सय ३० ओटा नयाँ उद्योग दर्ता भएका छन्। योसँगै प्रदेशमा दर्ता भएका लघु घरेलु तथा साना उद्योगको संख्या ४१ हजार चार सय ५८ पुगेको छ। 

दर्ता भएका उद्योगको लगानी प्रस्ताव ४७ अर्ब २० करोड छ। तर, दर्ता भएका अधिकांश उद्योग भने सञ्चालनमा छैनन्। उद्योग दर्ता गरेर सञ्चालनमा आएका उद्योगले भने एक लाख ९५ हजार ३ सय १७ जनालाई रोजगारी दिएको तथ्यांक छ। 

कूल उद्योग स्थापनाको ३३ प्रतिशत उद्योग कैलालीमा दर्ता छन्। कैलालीमा साढे १३ हजार उद्योग दर्ता भएर ३० अर्बको हाराहारीमा लगानी प्रस्ताव गरिएको घरेलु तथा साना उद्योग कार्यालय कैलालीका उद्योग अधिकृत नवराज भट्टले बताए। ‘वैदेशिक रोजगारबाट फर्केका युवाहरुले कृषिमा आधारित उद्योग दर्ता गर्नेक्रम कैलालीमा बढ्दै गएको छ’ उनले भने, ‘उद्योग दर्तासँगै लगानी वृद्धि र रोजगारी समेत बढ्दै गएको देखिन्छ।’

उद्योग स्थापनाको हिसाबले सुदूरपश्चिम प्रदेश अहिले पनि अन्य प्रदेशको तुलनामा पछाडि छ। ठुला लगानीका उद्योगको संख्या अझै बढ्न सकेको छैन। लघु घरेलु तथा साना उद्योग दर्ताक्रम बढेपनि ठुलो लगानीको उद्योग खोल्न भने कहिँकतैबाट पहल भएको छैन। घरेलु तथा साना उद्योग सबैभन्दा बढी कैलाली र कञ्चनपुरमा दर्ता भएपनि पहाडी जिल्लामा निकै न्यून मात्रमा उद्योग दर्ता भएका छन्। 

प्रदेशभित्र कोभिड– १९ पछि वैदेशिक रोजगारीबाट फर्केकाहरुले विभिन्न प्रकृतिका उद्योग खोल्नेक्रम बढेको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका प्रवक्ता भरतप्रसाद श्रेष्ठले बताए। ‘प्रदेशभित्र झण्डै ४२ हजारको हाराहारीमा उद्योग दर्ता भएको देखिन्छ’ उनले भने, ‘कतिपय उद्योग त सञ्चालन नै भएर रोजगारी समेत सिर्जना भएको छ। यसरी प्रदेशभित्र क्रमिक रुपमा व्यवसायिक वातावरण बन्दै गएको देखिन्छ।’

उद्योग स्थापनाका लागि लगानीमैत्री वातावरण बन्दै गएपछि क्रमिक रुपमा उद्योग दर्ता हुनेक्रम बढ्दै गएको प्रदेश सरकारको दाबी छ। वैदेशिक रोजगारीबाट फर्केकाहरुले कृषिमा आधारित बढी उद्योग दर्ता भएको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका प्रवक्ता श्रेष्ठले बताए।

कृषि, वन लगायत क्षेत्रमा आधारित उद्योगलाई प्रोत्साहन गर्न पूर्वाधार विकास र बैंक तथा वित्तीय संस्था विस्तार भइरहेको प्रदेश सरकारले जनाएको छ।  प्रदेशका ८८ स्थानीय तहमध्ये बझाङको साइपालबाहेक ८७ स्थानीय तहमा बैंक विस्तार भइसकेको छ।  प्रदेशभित्र हाल ८ सय २८ वटा बैंक तथा वित्तीय शाखा सञ्चालित छन्। 

प्रदेशभित्र स्थापना भएका बैंक तथा वित्तीय संस्थाहरु कुल निक्षेपको ६० प्रतिशतभन्दा बढी लगानी यसै क्षेत्रमा गर्न थालेपछि साना तथा मझौता उद्योग दर्ताक्रम बढेको हो।
 

कमेन्ट लोड गर्नुस