धनगढी उपमहानगरमा श्रृंखलाबद्ध चोरीका घटना, प्रहरी सक्रियतामाथि प्रश्न
धनगढीः बिहीबार राति धनगढी उपमहानगरपालिका वडा नम्बर ४ सहिदगेट नजिक भट्ट होटल एण्ड फास्ट फुड्मा चोरी भयो। चेतराज भट्टले सञ्चालन गर्दै आएको होटलबाट २८ हजार नगद रुपैयाँसहित केही सामान चोरी भएको थियो।
उनको होटलको पछाडिको सानो झ्यालबाट चोरी भएको हो। ‘गल्लामा २८ हजार चार सय रबर लगाएर राखेको थिए। बाँकी खुल्ला सय, ५०, १०, २० का नोट गनेको थिएन। ३÷४ आइसी पनि थिए, त्यो रबर लगाएर राखेको थिए’ भट्टले भने, ‘चाबी खोलेको छ। उनीहरु बसेका पनि रहेछन्। चिसो र बियर(रक्सी) खाएका छन्।’
उक्त पसलसहित सहिदगेट क्षेत्रका पाँच पसलबाट एकै राति चोरी भएको छ। चोरीमा संलग्नहरु ८ वटा पसलमा पसेका भए पनि पाँच पसलमा मात्र चोरी भएको छ। सबैभन्दा बढी अनिल गुरुङले सञ्चालन गरेको स्टिकर पसलबाट ५० हजार चोरी भएको छ। उनको पसलको पछाडिको भेन्टीलेशनबाट नै चोर भएको छ।
यस्तै हिरासिँह साउँदले सञ्चालन गरेको रिलायन्स स्टिकरबाट १० हजार र अन्य पसलबाट सामानहरु चोरी भएका छन्। गंगा इम्पेक्सका सञ्चालन ईन्द्र भट्टले रातिको १२/१ बजेको समयमा चोरी भएको बताए। उनले भने, ‘पहिला मेरो पसलमा छिरेका जस्तो लाग्यो। मेरो पैसा राख्ने घर्रा भाँचेको छ। तर हामीले पैसा राखेका थिएनौं। चार/पाँच जोड लुगाहरु र सामान लगेका छन।’
चार दिन पहिले मात्र धनगढी उपमहानगरपालिका वडा नम्बर १२ मा चोरी भएको थियो। वडा नम्बर १२ का रमेश तामाङको घरबाट फ्रिज लगायतका सामग्रहीहरु चोरी भएका हुन्। धनगढीको घुँइयाघाट क्षेत्रमा पनि चोरीका घटनाहरु हुँदै आएका धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष शेरबहादुर महराले बताए।
उनले चोरीमा संलग्न रहेको आरोपमा केही युवा पक्राउ परेका बताए। पीडित तामाङलाई चोरले गरेको क्षति असुल गराउन वडाध्यक्षले आश्वासन दिएका छन्। महराले भने, ‘चोरी भएको घरमा आफै गएको थिए। घरभित्रको केही समान र फ्रिज चोरी भएको हो। चोर पत्ता लगाउन उहाँहरुलाई अश्वास्त पारेको छु। तर पत्ता लागेको छैन।’
पछिल्लो समय धनगढीका पसल तथा घरहरुमा रातिको समयमा हुने चोरी बढ्दो छ। रातिको समयमा प्रहरीको सक्रियता कम हुने भएकाले चोरीका घटनाहरु हुँदै आएको नागरिकको गुनासो छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख तथा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले धनगढीको सहिदगेटको प्रहरी प्रमुख फेरिएको बताए। उनले प्रहरी कमाण्डारले गस्ती कम गरेको स्वीकार गरेका छन्। प्रहरी पोष्टमा नयाँ इन्चार्ज पठाएकाले अब गस्ती हुने उनले बताए।
साविकको भन्दा धनगढीमा प्रहरी बिट तथा प्रहरी अस्थायी पोष्टहरु थोरै मात्र सञ्चालनमा छन्। सोही कारण पनि धनगढीमा रातिको समयमा चोरी हुँदै आएका नागरिकको गुनासो छ। धनगढीको बजार तथा ग्रामिण क्षेत्रमा पनि चोरीका घटनाहरु हुने गरेका छन्। धनगढीका पसल तथा घरहरुमा चोरी गर्नेहरु लागूऔषध प्रयोगकर्ता हुनसक्ने प्रहरीले अनुमान गर्दै आएको छ। तर प्रहरीले संलग्नलाई पक्राउ गर्न सकेको छैन।