बैतडीको दशरथचन्दमा तीन दिनदेखि विद्युत सेवा अवरुद्ध
धनगढी: बैतडीको दशरथचन्द नगरपालिकामा विद्युत सेवा अवरुद्ध भएको छ। नगरपालिकाको वडा जनम्बर १ गुरुखोलामा बिजुलीको पोल भाँचिदा तीन दिनदेखि विद्युत सेवा अवरुद्ध भएको हो।
नेकपा एकीकृत समाजवादी अध्यक्ष समेत रहेका गुरुखोलाका स्थानीय महादेव भट्टले आफ्नै जमिनमा रहेको रुख काट्दा पोल भाँचिएपछि तीन दिनदेखि विद्युत सेवा अवरुद्ध भएको बताइएको छ। विद्युत पोल भाँचिदा दशरथचन्द-१, २ र सुर्नया गाउँपालिका-१ का विभिन्न स्थानमा विद्युत अवरुद्ध भएको छ।
विद्युत पोल भाँचिएकै कारण रेडियो निङ्गलाशैनी पनि जेनेरेटरबाट सञ्चालन गर्नु परिरहेको बताइएको छ। समाजवादी अध्यक्ष भट्टले दाउराका लागि रुख काट्दा हावाले रुख पोलमा ढलेको र यसबारे आफू पनि चिन्तित रहेको बताए।फरक दिशामा रुख ढलाउन खोजेको तर हावाले पोलमे ढल्न गएकाने उनको भनाइ छ। नेपाल विद्युत प्राधिकरण बैतडीका सुपरभाइजर माधव लेखकले नयाँ पोल गाडेर विद्युत सेवा सुचारु गर्ने काम भइरहेको बताएका छन्।