अछाममा किशोर मृत्यु प्रकरणः शव पोष्टमार्टमका लागि सदरमुकाम लगियो
धनगढीः अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको शव पोष्टमार्टमका लागि सदरमुकाम लगिएको छ। मृतकका आफन्त र प्रशासनबीच शव परीक्षण गर्ने, घटनाको छानबिन गर्ने र आवश्यकता अनुसार कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने विषयमा सहमति भएपछि शव अछामको सदरमुकाम मंगलशेन लगिएको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक मोहन कुमार आर्चायका अनुसार आजै शवको पोष्टमार्टम गरिने छ। जेठ १७ गते साँझ नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पञ्चदेवलमा भएको द्वन्दपछि बेपत्ता भएका शाहीको शव शनिबार बिहान स्थानीयले फेला पारेका थिए। मध्य पहाडी राजमार्गमा पर्ने पञ्चदेवल विनायक नगरपालिकाको वडा नम्बर ४ कुच्चीको भिरको खोँचमा उनको शव फेला परेको थियो। मृतक किशोरका आफन्तले काँग्रेसको योजना अनुसार हत्या भएको आरोप लगाएका छन्। निर्वाचनका क्रममा शाही एमालेको प्रचारमा सक्रिय थिए। सोही कारण उनको हत्या भएको आरोप आफन्तले लगाएका छन्।
उक्त घटनाको अनुसन्धान गर्न काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्युरोबाट प्रहरी नायब उपरीक्षकको कमान्डमा टोली खटिएको छ। सो टोलीले पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कैलाश विष्टले बताए। यस्तै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेको नेतृत्वमा पनि टोली खटिएको छ। यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले बुधबार प्रतिनिधिसभा बैठकमा शाहीको मृत्युबारे छानबिन गरी सत्यतथ्य पत्ता लगाउन सरकारलाई निर्देशन दिएका छन्। अछाम क्षेत्र नम्बर २ का सांसद यज्ञबहादुर बोगटीले शाहीको मृत्युबारे तत्काल सरकारका नाममा रुलिङ गर्न सभामुखसमक्ष आग्रह गरेका थिए।