अछाम घटना अपडेटः पञ्चदेवलकी मेयर सदरमुकाम सरिन्
धनगढीः अछामको पञ्चदेवल विनायक नगरपालिका-४ मा १७ वर्षीय किशोर विनोद शाही मृत फेला परेको ३ दिनसम्म पनि शव उठेको छैन। मृतक शाहीको कांग्रेस कार्यकर्ताले हत्या गरेको एमाले कार्यकताले आरोप लगाएका छन्। यस्तै शाहीको शव भेटिनेबित्तिकै आन्दोलित भएका स्थानीयहरू अहिले पनि आन्दोलनमै छन्।
स्थानीय आन्दोलित भएपछि पञ्चदेवल विनायक नगरपालिकाकी मेयर सदरमुकाम मंगलसेनमा बस्न थालेकी छन्। मेयर अम्बिका चलाउने आफूविरुद्ध नाराबाजी भएपछि असुरक्षित ठहर गर्दै सदरमुकाम सरेकी हुन्।
घटनामा आफूलाई लगाएको आरोप झुटो भएको भन्दै दोषी जोसुकै भएपनि घटनाको सत्यतथ्य छानबिन गर्न आफू पनि लागेको उनले बताइन्। मेयर चलाउनेकै संगलग्नतामा किशोरको हत्या भएको एमाले कार्याकर्ताले आरोप लगाएका छन्। चुनावको विषयलाई लिएर कालिकास्थानमा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताहरूबीच झडप भएको थियो। त्यहीँ बेलाको झडपपछि किशोर बेपत्ता भएका थिए। उनी छहराएको पाँच दिनपछि शनिबार बिहान शव भेटिएको थियो। घटनाले अहिले राजनीतिक रूप लिएको छ।
उक्त घटनाको अनुसन्धानका लागि अहिले कुकुरसहितको सिआइबी र टोली खटिएको छ। प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले अनुसन्धान गरिरहेको बताएका छन्। पीडित पक्षले हत्या भएको भन्दै हत्यारा पत्ता लगाएर कारबाही गर्न माग गरेको छ।