सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिसस अछाममा गठबन्धन र एमालेको उम्मेदवारी, कसको मतभार कति ?

२०७९ जेठ १९, ०१:१४ खबर संवाददाता

अछामः अछाममा प्रमुखसहित सदस्यमा नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को गठबन्धनले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै नेकपा (एमाले) ले पनि प्रमुखसहित सबै पदमा उम्मेदवारी दर्ता गराएको छ।

जिसस सदस्यमा माओवादी केन्द्र र समाजवादीलाई एक–एक सदस्य दिएर नौ पदमा मनोनयन दर्ता गराएको काँग्रेस नेता बम स्वारले जानकारी दिए। काँग्रेसबाट साँफेबगर नगरपालिका–८ चण्डिकाका वडा सदस्य ललितबहादुर कुँवरको उम्मेदवारी परेको छ। उपप्रमुखमा पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थान निवासी दानमती बम शाहीको काँग्रेसबाट उम्मेदवारी दर्ता भएको छ। एमालेतर्फबाट जिल्ला समन्वय समितिको प्रमुखमा मंगलसेन नगरपालिका–६ तेसिङ्गेका वडा सदस्य दुर्गाप्रसाद भण्डारीको उम्मेदवारी परेको छ। एमालेबाटै उपप्रमुखमा साँफेबगर नगरपालिका –६ भागेश्वरकी वडा सदस्य पुतली रावललाई उम्मेदवार बनाएको छ। जिसस सदस्य पदमा सात जनाको उम्मेदवारी दर्ता गराएको एमाले अछामका सचिवालय सदस्य लिलाराज केसीले जानकारी दिए। 

काँग्रेस, माओवादी र समाजवादी गठबन्धन र एमालेको गरेर १८ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नारायण पौडेलले जानकारी दिए। उम्मेदारलाई आउँदो शनिबारमा गाउँ तथा नगरका प्रमुख तथा अध्यक्ष, उपाध्यक्ष र उपप्रमुखले मतदान गर्नेछन्। जिसस अछाम निर्वाचनका क्रममा जम्मा २० मतभारमध्येमा काँग्रेसका ११, एमालेको छ, माओवादी केन्द्रका दुई र समाजवादीका एक मतभार छन्। काँग्रेस, माओवादी र समाजवादी मिल्दा १४ मतभार हुनेछ। यसअघिको जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख काँग्रेस र माओवादी केन्द्र गठबन्धन गरिएको थियो । प्रमुख र उपप्रमुखमा पुरुष नै रहेका थिए।


 

कमेन्ट लोड गर्नुस