सुदूर नेपाललाई विश्वसँग जोड्दै

भीम रावलको प्रश्न– ‘व्याख्यात्मक घोषणा’ के भयो ? 

२०७९ जेठ १२, ०३:२२ खबर संवाददाता

काठमाडौंः प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद भीम रावलले अमेरिकी सहयोग परियोजना (एमसीसी) मा पारित गर्दा संसद्मा भनिएको ‘व्याख्यात्मक घोषणा’को विषयमा अमेरिकाले लिखित धारणा नदिएसम्म परियोजना अघि नबढाउन माग गरेका छन्।बिहीबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले व्याख्यात्मक घोषणाको विषयमा अमेरिकाबाट लिखित धारणा नआएको भन्दै संसद्लाई जानकारी गराउनुपर्ने बताए।

यस्तै, नेपाल–भारतबीचको ईपीजी प्रतिवेदनका विषयमा गठबन्धन सरकारको धारणा के हो ? भन्दै उनले भारतीय प्रधानमन्त्रीसँग कुरा राख्न किन नसकेको ? भन्दै प्रश्न गरे। सांसद रावलले देश अत्यन्त कमजोर भएको र निर्णय गर्ने अधिकार बाह्य शक्तिलाई दिइएको भन्दै परराष्ट्र नीतिमा प्रश्न उठाए। “अमेरिकी सहायक विदेशमन्त्री जो तिब्बत मामिला हेर्छिन्, उनलाई तिब्बती शरणार्थीस्थल र गुम्बा किन घुमाएको हो ? यो स्वतन्त्र र असंलग्न परारष्ट्र नीति हो,” उनले प्रश्न गरे। नीति तथा कार्यक्रममा धेरै अंग्रेजी शब्द लेखिएको भन्दै उनले नेपाली भाषामा संशोधन र रूपान्तरण गर्न पनि माग गरे।

कमेन्ट लोड गर्नुस