सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमले कहिले उत्पादन गर्ला डाक्टर ?

स्तरीय स्वास्थ्य सेवाका जहिल्यै सकस

निर्माणको अन्तिम चरणमा पुगेको गेटा मेडिकल कलेज
निर्माणको अन्तिम चरणमा पुगेको गेटा मेडिकल कलेज
२०७९ जेठ १२, १०:१५ नारायण अवस्थी

धनगढी : सुदूरपश्चिम प्रदेशमा मेडिकल कलेज नहुँदा जटिल र विशिष्ट किसिमको उपचार सेवा पाउन सकस भएको छ। २७ लाख बढी जनसंख्या भएको प्रदेशले सरकारी तवरबाट स्तरीय र सहज स्वास्थ्य सेवा दिन नसकेको हो। 

जसको कारण सामान्यदेखि जटिल खालका रोगको निदान र उपचार गर्नबाट हजारौं नागरिक बञ्चित रहेका छन्। राज्यले दिने सेवामध्ये स्वास्थ्य सेवा सबैभन्दा महत्वपूर्ण भए पनि सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म विशिष्ट स्वास्थ्य सेवाको पहुँच विस्तार नहुनु दुःखद भएको प्राध्यापक डाक्टर शुभेषराज कायस्थले बताए। ‘अन्य प्रदेशमा एकभन्दा बढी मेडिकल कलेज भए पनि सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म एउटा पनि मेडिकल कलेज नहुँनु दुर्भाग्य हो,’ उनले भने, ‘मेडिकल कलेज नहुँदा बिरामीको उपचारमा समस्या भएको छ। जटील तथा गम्भीर बिरामीको उपचार गर्न त मेडिकल कलेज नै हुनुपर्छ।’

सुदूरपश्चिम प्रदेशमा सेती प्रादेशिक अस्पतालमा  सबैभन्दा बढी बिरामीको चाप हुने गरेको छ। सेती अस्पतालमा पनि जति विरामी आउँछन्, ती सबैको उपचार गर्नसक्ने क्षमता विकास गर्न सकिएको छैन। जनशक्ति, उपकरण र बजेट अभावको कारण सेती प्रादेशिक अस्पतालले प्रदेशका सबै जिल्लाबाट आउने बिरामीको सहज उपचार गर्न सक्ने अवस्था छैन। 

सेती प्रादेशिक अस्पतालमा मुटु, मृगौला, सबैखाले क्यान्सर, स्पाइनल इन्जुरी, प्रसुतीसम्बन्धि कृत्रिम गर्भाधान, नशा तथा हड्डी पुनस्थापना जस्ता विशिष्ट उपचार सेवा प्रदान गर्ने क्षमता विकास भएको छैन। प्रदेशमा बृहत उपचार सेवा दिन र सामान्यदेखी विशिष्ट स्वास्थ्य जनशक्ति उत्पादन गर्न अस्पतालहरूको स्तरवृद्धिसँगै मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान या विश्वविद्यालय संचालनमा ल्याउनुपर्ने सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरीटेण्डेण्ट डाक्टर हेमराज पाण्डेले बताए।

‘सुदूरपश्चिममा सबै खाले विरामीको उपचार होस र सँगसँगै पढाइ अनुसन्धान होस् भन्नका लागि मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान या विश्वविद्यालय जे बनाए पनि हुन्छ,’ उनले भने, ‘अहिले सुदरपश्चिममा मुटु, मृगौला, क्यान्सर, स्नायु तथा मस्तिष्क, कृत्रिम गर्भाधान गराउने उपचार सेवा छैन, मेकिल कलेज या प्रतिष्ठान भए अहिले नपाउने विशिष्ट उपचार पाउन सकिन्छ।’

सुदूरपश्चिममा केन्द्र सरकारले गेटामा तयार भएको भौतिक संरचनामा मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान या अन्य जुनसुकै प्रारुपमा पठनपाठन संचालन गर्न तुरुन्त अस्पताल संचालन गर्नुपर्ने स्वास्थ्य क्षेत्रका विज्ञले बताएका छन्। सरकारले दिने सेवामा स्वास्थ्य सेवामा सबै नागरिकको समान र सहज पहुँच विस्तार गर्न सुदूरपश्चिमममा मेडिकल कलेज स्थापना भए दक्ष जनशक्ति उत्पादनसँगै विभिन्न रोग तथा बिरामीको अनुसन्धान गर्न सकिने र हाल उपलब्ध नभएका विशिष्ट स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच पुग्ने प्राध्यापक डाक्टर कायस्थले बताए।

‘मेडिकल कलेज संचालनम आए सबै किसिमका जटिल खालका शल्यक्रिया सेवा, प्रयोगशाला सेवा, मुटु, मृगौला, प्रसुती, स्नायु, मस्तिष्क, क्यान्सर र हाडजोर्नी र स्पाइनल इन्जुरीजस्ता जटिक बिरामीको सहज उपचार हुन्छ,’ उनले भने, ‘अब यहाँको जनताले मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान या विश्वविद्यालय संचालन गर्न सरकारलाई दबाब दिनुपर्छ।’ मेडिकल कलेज संचालन नहुँदा प्रदेशमै चिकित्सा शिक्षा अध्यापन गराएर डाक्टर उत्पादन गर्ने सपना पनि अधुरै रहेको छ।

गेटा मेडिकल कलेज सञ्चालनका लागि आधारभूत संरचना तयार भएका छन्। तर सञ्चालनको प्रारुप तयसमेत गरिएको छैन। जसका कारण अस्पताल र चिकित्सा शिक्षा अध्यापनका लागि कुनै प्रक्रिया नै अगाडि बढेको छैन। ०४४ सालतिर शंकराचार्यले गेटामा मेडिकल कलेज स्थापना गर्ने भन्दै केही जग्गा किनेका थिए र सानो घर पनि बनाएका थिए। उनै शंकराचार्यले २०५६ मा जयन्त सरस्वती स्वर्ण महोत्सव ट्रस्ट स्थापना गरे।

त्यही वर्ष सरकारले गेटा आँखा अस्पताल अगाडिको ७७ बिघा जमिन मेडिकल कलेज स्थापनाका लागि ट्रस्टको नाममा दियो। तर, ७ वर्षसम्म मेडिकल कलेजको अगाडि बढेन। ०६२ मा स्थानीयलाई त्यस क्षेत्रमा सामुदायिक वन जगेर्ना गर्न भनियो। ०६५ मा सरकारले पहिलो पटक गेटा मेडिकल कलेजका लागि एक करोड बजेट विनियोजन गरेको थियो।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस