सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप पाँच जनामा सङ्क्रमण पुष्टि

२०७९ जेठ ११, ०७:२९ रासस

काठमाडौँ: देशभर पछिल्लो २४ घण्टामा थप पाँच जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। सो अवधिमा दुई हजार ७१७ जनाको नमूना परीक्षण गरिएको थियो। एक हजार ८८९ जनाले पिसिआर र ८२८ जनाको एन्टिजिन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।  

सो अवधिमा नौजना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार ११ पुगेको छ। सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। 

पछिल्लो २४ घण्टामा ४७ हजार ९७९ जनाले  कोभिडविरुद्धको खोप लगाएका छन्। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १२८ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ । होम आइसोलेशनमा १२८ जना सङ्क्रमित रहेका छन्। 

हाल देशभरमा दुई सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लाहरू कुनै पनि छैनन्। शून्य सङ्क्रमित रहेका जिल्लाहरूमा ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, धनकुटा, भोजपुर, पर्सा, सप्तरी, रौतहट, बारा, धनुषा, दोलखा, सिन्धुपाल्चोक, मनाङ, मुस्ताङ, म्याग्दी, बाग्लुङ, पर्वत, रुकुम पूर्व, कपिलवस्तु, प्यूठान, जाजरकोट, जुम्ला, डोल्पा, हुम्ला, रुकुम पश्चिम, कालीकोट, मुगु, बाजुरा, दार्चुला, बझाङ र डडेल्धुरा रहेका छन्। उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा ३० र ललितपुर पाँच र भक्तपुरमा दुई सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ। कूल सङ्क्रमण दर १७ दशमलव दुई प्रतिशत छ। 

कमेन्ट लोड गर्नुस