प्रेमपत्र
प्रिय उर्वशी
मीठो सम्झना !
उर्वशी, जीवनको उत्तरार्धबाट अतितका सम्पुर्ण दृश्यहरूको छायाङ्कन गर्न त्यति सजिलो त छैन तर पनि मनको क्यानभासमा अजम्बरी बनेर बसेको तिम्रो तस्बिरलाई पुनर्लेखन गर्ने कोसिस गर्दैछु । मनको मोनालिसालाई शाब्दिक अभिव्यक्ति दिन शिद्धहस्त लियोनार्दो नै त आवस्यक पर्दैन होला नि हैनर । त्यसैले मनको धमिलो छायाँ चित्रमा सिकारु चित्रकारले झै रङ्ग भर्ने प्रयत्नसम्म गर्दैछुँु ।
उर्वशी,
सायद समयभन्दा बलियो र भाग्यभन्दा मजबुर संसारमा अर्थोक हुँदैन क्यारे ? त्यसैले त समयको गतिसंग बग्दै र भाग्यको तरङ्गमा तरङ्गित हुँदै एकाकार भएका हामी फेरि अलग पनि त्यसरी नै भयौ । हामी अलग हुनुमा दोष न तिम्रो थियो न त मेरो नै । खेल समयले खेल्यो हामी त फगत खेलको सानो हिस्सा मात्र थियौं । यस संसारमा चाहनाले मात्रै त कसैको केही चल्दैन रै छ । शाहजहाँले मुमताजको शरीरमाथि मखबरा चुने के त्यो रहर थियो र ? के इभाको कन्चटमा गोली हान्दा हिटलरका आंैलाहरु काँपेन होलान् र ?
मुना मदन, लैला मजनुहरुले पनि यस्तै नियतिको सिकार बन्नु परेको थियो । जीवनको पटकथा लेख्ने कोही ? निर्देशन दिने केही ? चौतारोमा भेटाएर दोबाटोमा छुटाउने कोही ? हामी त फगत पात्रमात्र रहेछौं ।
उर्वशी,
प्रेमले न आम मान्छे भन्दो रैछ न त खास मान्छे नै तर फरक यति हो कि हामी आम मानिसका प्रेमकथाहरु हाम्रो अवसानसंगै मेटिएर जान्छन् भने खास मानिसका प्रेमकथाहरु लेखिन्छन् । उनीहरु पढिन्छन् र चिरकालसम्म स्मरणमा बस्छन् । हाम्रो नलेखिएको पे्रमकथा कसले पढोस ?हामी मेटिएकै दिन हाम्रो प्रेमकथाको पनि संधैका लागि बिसर्जन हुन्छ । जसरी, हामी आम मानिसले संगालेर राखेका हजारौं सपनाहरु चिताको मुस्लोसंगै धुवाँ बनेर अनन्त आकासमा बिलिन भएर जान्छन् त्यसरी नै हाम्रो सार्वजनिक बन्न नसकेको प्रेम कथाका हरेक अक्षरहरु पनि चिताको खरानीसंगै केरमेट भएर जान्छन् ।
उर्वशी,
प्रेम आवेग पनि होईन र अन्धवेग पनि होईन त्यसैले त हामी न जानाजान एकाकार भएका थियौ न अन्जानमा नै । प्रेम संयोग हुँदोरैछ उर्वशी, अझ भनौ दैव संयोग । समयको प्रवाहसंगै कुनै घुम्तीमा एकाकार भएका हामी अनि फेरि अर्को कुनै घुम्तीमा पुग्दा नदीका दुई किनाराझै बिच्छेदित पनि भयौ । नदीका दुई किनाराको मिलन सम्भव होला तर यो जुनीमा हाम्रो पुनर्मिलन सम्भव छैन । छितिज माथिको एक टुक्रा बादल खुला आकाशमा विलिन भएझै मेरो परिधीको सिमा रेखाभन्दा धेरै पर तिम्रो संसार अनन्तसम्म फैलिएको छ । अन्त्यहीन यात्राका लागि बसाई सर्ने साहस मसंग छैन ।
उर्वशी,
जीवन गोरेटोमा यात्रारत रहँदा कतिसंग चाहेर आँखा जुझ्छन् अनि कतिसंग नचाहेर पनि तर मैले तिमीसंग न जानाजान आँखा जुधाएको थिए न त अन्जानमा नै । हाम्रो आँखा जुझ्नु पनि संयोग नै थियो , अझ भनौ दैवसंयोग । उर्वशी, मसंग जुधेका तिम्रा आँखा बाहेक मैले अरु कसैका आँखालाई परिभाषित गर्ने अनि अथ्र्याउने प्रयास कहिल्यै गरिन तर तिम्रो हेराइमा त्यस्तो के शक्ति थियो कुन्नि ? म संधै–संधैका लागि तीनकै भएर बाँचिरहेको छुँ । तिम्रा आँखाको नानी बनेर बाँच्दा पनि तिनलाई परिभाषित गर्न नसक्नु मेरो कमजोरी थियो । मानिस सतहबाट पनि गहिराईको अन्दाज गर्न सिपालु हुन्छन् तर म, तिमीमा चुर्लुम्म डुबेर पनि तिम्रो गहिराई आँकलन गर्न सकिन ।
उर्वशी,
कुनै कुरा हुनु र नहुनुको खास अन्तर के रहेछ भनेः मान्छे आफुसंग भएको कुरालाई छोडेर अप्राप्य कुराको पछाडी दौडदो रहेछ तर नहुँदा दुःखी हुने मानिस हुँदा पनि खुशी हुन सक्दैन । कहिले काँही त लाग्छ सिंगो जीवन नै तृष्णाहरूको जालो रहेछ । हुन सक्छ मेरो हकमा पनि त्यही लागु भएको होस् तर उर्वशी, तिमी मेरो लागि तृष्णा मात्र थिएनौ त्यसभन्दा धेरै– धेरै थियौ । त्यसैले त तिमी मसंगै हुँदा पनि तिमी भन्दा परको कुनै दृश्य मलाई कहिल्यै मनमोहक लागेन । आज पनि तिम्रो झल्को दिने हरेक दृश्यहरु मलाई सुन्दर अनि मनमोहक लाग्ने गर्छन् ।
उर्वशी,
हामी प्रेममा कसरी एकाकार भयौ ? त्यसको चाल न तिमीले पायौ न त मैले नै । कतिपय आकस्मिकताहरू झै हाम्रो प्रेम पनि त नियोजित नभएर आकस्मिक थियो । तिमीलाई याद होला हाम्रो पहिलो भेट र त्यहाँको मौनता, त्यो मौनता भित्रको कोलाहललाई मैलेझै तिमीले पनि महसुस गरेर नै त हामी एक भएका थियौ । मेरो हृदयको याचनालाई तिम्रो आत्माले कसरी निसर्त आत्मसाथ गर्यो मैले त्यो आजसम्म पनि चाल पाउन सकेको छैन ? हुन सक्छ म पनि अन्जानमै तिम्रो मनको कुनै कुनामा नजानिदो किसिमले अटाएको हुँदो हुँ । प्रेमका लागि अभिव्यक्ती जरूरी हुँदैन रहेछ उर्वशी र त अव्यक्त भावनाहरू को चाँङ नउधिँदै हामी एक अर्कामा समाहित भयौ ।
उर्वशी,
प्रेम र युद्दमा के–के जायज अनि के–के नाजायज हुन्छ मलाई केही थाहा छैन तर युद्धमा अपराजितहरु प्रेममा हारेको देखेको छुँ मैले । मैले पनि प्रेमको अपराजित योद्धा बनेर संधै भरिका लागि तिम्रो मनको सिंहासनमा राज गर्ने अभिलाषा राखेको थिएँ तर ईच्छा राख्नु र ईच्छा पुरा हुनु एउटै कुरा होइन रहेछ । अझ, तिमी पराजित हुने कुनै पनि लडाईको विजेता बन्नु थिएन मलाई । म तिम्रा लागि एक पटक मात्र होईन हजारौ पटक हार्न चाहन्छु । युद्धमा पराजित हुँदा हिनतावोध अनि आत्मग्लानी हुन सक्ला तर प्रेमका लागि गरिएको समर्पण कति आनन्ददायक हुँदो रहेछ भन्ने कुरो तिमी मैले झै बुझ्दिनौ ।
उर्वशी,
हाम्रो प्रेममा समय र सन्दर्भका बिच कहिल्यै मेल हुन सकेन । हिजो समय थियो सन्दर्भ मिलेन । आज सन्दर्भ मिलेको थियो समय रहेन । हुनसक्छ नियतिलाई यही मन्जुर थियो तर पनि उर्वशी, तिमी भौतिक रूपमा मसंग हुनु र नहुनुले मलाई कुनै फरक पर्दैन । प्रेम अनि समर्पणका तारहरु आपसमा जोडिरहेसम्म हुनु र नहुनुले के फरक पर्छ र ? आलिङ्गन, चुम्बन अनि शारीरिक घर्षणलाई मात्र प्रेम मान्ने हो भने त त्यस्तो सस्तो प्रेम बजारमा जति पनि किन्न सकिन्छ । प्रेम त्याग, बलिदान अनि समर्पणको उच्चतम स्वरुप हो भन्ने मेरो बुझाई छ । त्यसैले तिम्रो उपस्थिति र अनुपस्थितले मेरो समर्पणमा खासै फरक पर्दैन ।
तर उर्वशी,
कुनै समय यस्तो पनि थियोः लाग्थ्यो तिम्रो अनुपस्थिति बिना कसरी बाँच्न सकिएला र ? तर जीवन बाँच्ने कुरा अरु कसैका लागि नभएर आफ्नै लागि रहेछ । हिजो ज्युनलाई प्यूनुसंग सम्झौता गरे । प्यास एउटै थियो तृष्णाको स्वरुप फेरे । गास फेरे, बास फेरे तर संधैका लागि एकोहोरो सास फेर्न सकिन । पात्र , परिबेश र दृश्य फेरे तर पृष्ठभूमीमा अजम्बरी बनेर रहेको तिम्रो आकृति कहिल्यै फेर्न सकिन ।
उर्वशी,
समय बलबान हुँदो रैछ । यसको प्रवाहसंग हिजो मैले सम्झौता गरे आज तिमी संझौता गर्दैछ्यौ । लाखौले लाखौ पटक यससंग सम्झौता गरे । समयको बलिबेदीमा हजारौका अमर प्रेमहरू बलिदान भए । थोरै देखिए, केही लेखिए र हामी जस्ता अभागीहरु ईतिहासको अध्यारो कुनामा गुमनाम भएर हरायौ ।
उर्वशी,
प्रेमको सम्बन्ध न अमर हुनुसंग छ अनि न गुमनाम हुुनसंग । यो यसै हँदोरैछ त्यसै हुँदोरैछ । नफा नोक्सानको लेखाजोखा गरेर गरिने प्रेम, प्रेम होइन व्यापार हुन्छ । यस मानेमा हामी दुवै निसन्देह प्रेमी, प्रेमिका थियौ । ईतिहासले हामीलाई देखेन पनि र लेखेन पनि । के यसो हुँदैमा हाम्रो प्रेमको अवमुल्यन हुन्छ र ?
हुन्छ त उर्वशी
उही तिम्रो
.........!!!!!