सुदूर नेपाललाई विश्वसँग जोड्दै

आयातमा अनियन्त्रित वृद्धि, ९ महिनामै १३ खर्ब व्यापार घाटा

२०७९ वैशाख २८, ०५:२० खबर संवाददाता

काठमाडौंः आर्थिक वर्ष २०७८/७९ को ९ महिनामा कुल वस्तु आयात ३२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ। आयात अनियन्त्रित रुपमा बढ्दा देशको समग्र अर्थतन्त्र नै डामाडोल बनेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि वैशाखसम्म आयात ३२ प्रतिशत बढेर १४ खर्ब ६६ अर्ब पुगेको हो। अघिल्लो वर्षको सोही अवधिमा १३ १ प्रतिशतले आयात बढेको थियो। यस वर्ष भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २४.४ प्रतिशत, २८.६ प्रतिशत र ५९.२ प्रतिशतले बढेको राष्ट्र बैंकको विज्ञप्तिमा उल्लेख छ।

सरकारले व्यापार घाटा बढेको भन्दै विभिन्न वस्तुहरुको आयातमा कडाइ गरे पनि त्यसको खासै प्रभाव देखिएको छैन। वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधि, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टस्, सुनलगायतका वस्तुको आयात बढेको छ। रासायनिक मल, सिमेन्ट, दाल, मोलासीस सुगरलगायतका वस्तुको आयात भने घटेको राष्ट्र बैंकले जनाएको छ।

त्यसो त यस अवधिमा निर्यातमा पनि ६९.४ प्रतिशतको उच्च वृद्धि देखिएको छ। अघिल्लो वर्षको सोही अवधिमा २०.२ प्रतिशतले निर्यात बढेको थियो। यस आर्थिक वर्ष वैशाखसम्म १ खर्ब ६० अर्ब ५७ करोड रुपैयाँको वस्तु नेपालबाट निर्यात भएको राष्ट्र बैंकको तथ्यांक छ। नेपालबाट भारत तथा अन्य मुलुकमा भएको निर्यात क्रमशः ८६.९ प्रतिशत र २५.५ प्रतिशतले बढेको छ। चीनतर्फको निर्यात भने २१.८ प्रतिशत घटेको छ। नेपालबाट पाम तेल, सोयाबिन तेल, धागो, ऊनी गलैंचा, पिनालगायत वस्तुको निर्यात बढ्दा अलैंची, चिया, तार, दन्तमञ्जनलगायतको घटेको छ।

निर्यात बढे पनि व्यापार घाटा अझै फराकिलो बनेको छ। ९ महिनामा व्यापार घाटा २८.५ प्रतिशतले बढेर १३ खर्ब ६ अर्ब ९ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १२.५ प्रतिशतले बढेको थियो।

कमेन्ट लोड गर्नुस