विश्व महिला बक्सिङमा नेपालका चार खेलाडी
काठमाडौँ: नेपाल बक्सिङ सङ्घले विश्व महिला बक्सिङ च्याम्पियनशिपमा सहभागी हुने चार खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। सङ्घले अन्तर्राष्ट्रिय बक्सिङ सङ्घ (आइवा) विश्व महिला बक्सिङ च्याम्पियनशिप–२०२२ मा सहभागी हुने नेपालको उत्कृष्ट महिला चार बक्सरलाई बन्द प्रशिक्षणमा बोलाइएको बक्सिङ सङ्घका प्रवक्ता श्यामकाजी अवालेले बताए।
आगामी मे ६ देखि २१ तारिखसम्म टर्कीको इस्तानबुल सहरमा हुने १२ औँ विश्व महिला बक्सिङ च्याम्पियनशिपमा नेपालबाट सुस्मन तामाङ, मिनु गुरुङ, चन्द्रकला थापा र पुनम रावलले प्रतिस्पर्धा गर्नेछिन्। सुस्मनले ४८ केजी तौल समूहमा, मिनुले ५२ केजी, चन्द्रकलाले ५७ केजी र पुनमले ६० केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्। सहभागी उक्त चारजना खेलाडीहरु गत महिना थाइल्यान्डमा भएको खुला अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनशिप खेलेर आएका खेलाडी हुन्।
खेलाडीलाई बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगर र आइबा थ्री स्टार प्रशिक्षक दीपक महर्जनले सातदोबाटोस्थित बक्सिङ प्रशिक्षण हलमा बिहान र साँझ प्रशिक्षण दिइरहनुभएको छ। आसन्न १९औँ एसियन प्रतियोगिता (एसियाड) को तयारीका लागि पनि यस प्रतियोगिता महत्वपूर्ण हुने सङ्घले जनाएको छ।