सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मेयरका स्वतन्त्र उम्मेदवार हमालद्वारा मनोनयन दर्ता

बाजागाजा र र्‍यालीसहित पुगेका थिए निर्वाचन कार्यालय

२०७९ वैशाख ११, ११:५४ खबर संवाददाता

धनगढी : सुन्दर सुदूरपश्चिमका अभियन्ता एवम् उद्योगी गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गरेका छन्। धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर हमालले मेयर पदमा स्वतन्त्र मनोनयन दर्ता गरेका हुन्।

उम्मेदवारी दर्ता गराउन हमाल बाजागाजा र र्‍यालीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। ‘हाम्रो धनगढी हामी बनाउँछौं’ भन्ने मूलमन्त्रका साथ हमालले फागुन १९ गते धनगढीको मेयरका लागि उम्मेदवारी घोषणा गरेका थिए। 

मनोनयन दर्ता गर्दै हमालले बाँडीचुँडी खाने प्रवृतिका विरुद्ध आफ्नो उम्मेदवारी रहेको बताए। ‘जनताले गठबन्धन गरेकै छैनन्,’ उनले भने, ‘गठबन्धन नेताहरुले गरेका हुन्। गठबन्धन समाज बनाउनका लागि होइन। बाँडीचुँडी खानका लागि हो। त्यसका विरुद्ध मेरो उम्मेदवारी हो। धनगढीका जनताले राखेको चाहनाको प्रतिनिधि पात्र म हुँ।’

मेयरमा विजयी भए सेवासुविधाको नाममा धनगढी उपमहानगरपालिकाबाट एक रुपैयाँ पनि नलिने घोषणा गरिसकेका छन्। उनले धनगढी उपमहानगरपालिकाको गाडी पनि नचढ्ने घोषणा गरेका छन्। ०७४ सालको चुनावमा पनि हमाल मेयर पदमा स्वतन्त्र उम्मेदवार थिए। त्यतिबेला हमाल ११ हजार ५ सय २७ मत ल्याएर दोस्रो भएका थिए। उनी काँग्रेसका नृपबहादुर वडसंग दुई हजार सात सय मतले पराजित भएका थिए। 

हमालले कैलाली उद्योग वाणिज्य संघको नेतृत्व गर्दा आफ्नो कार्यकाल (२०६३–६६)मा संघलाई देशकै उत्कृष्ट शाखा बनाएका थिए। दिनेश ग्रुपका नामबाट सुदूरपश्चिममा सञ्चालित उनका व्यापार व्यवसायमा ६ सय बढीले रोजगारी पाएका छन्। सुदूरपश्चिमलाई सम्भावनाको क्षेत्रका रूपमा परिचित गराउन उनले सुन्दर सुदूरपश्चिम अभियान थालेका थिए। 

यस्तै धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को अध्यक्षमा बलबहादुर ऐर, ४ को अध्यक्षमा सिद्धराज पनेरु, वडा नम्बर ५ मा पदमराज भट्ट ‘प्रभास’, वडा नम्बर १४ मा यम लामिछाने र वडा नम्बर १५ मा कमलबहादुर ढाटले पनि स्वतन्त्र उम्मेदवारीका लागि मनोनयन दर्ता गरिरहेका छन्।

कमेन्ट लोड गर्नुस