चीनद्वारा सोलोमन आईसल्याण्डसँग सुरक्षा सम्झौता
चीनले सोलोमन आईसल्याण्डसँग सुरक्षा सम्झौता गरेको छ। दुई देशबीच यसै हप्ता सुरक्षा सम्झौतामा हस्ताक्षर भएपछि अस्ट्रेलिया, न्यूजिल्यान्ड र अमेरिकाले प्रशान्त क्षेत्रको सुरक्षाबारे चिन्ता व्यक्त गरेका छन्।
सम्झौताका सर्तहरु सार्वजनिक भएका छैनन्। तर सम्झौतामा चिनियाँ युद्धपोत सोलोमन आईसल्याण्डमा तैनाथ गर्न अनुमति दिइने र शान्ति कायम राख्ने सहयोग आवश्यक भएमा चीनले सुरक्षा फौज पठाउन सक्ने उल्लेख गरिएको अस्ट्रेलियाको दाबी छ।
यसअघि चीनसँगको सम्झौता रोक्न अस्ट्रेलिया सरकारले गरेको प्रयासमा सोलोमन आईसल्याण्डले अस्वीकार गरेको थियो। अस्ट्रेलिया सोलोमन आईसल्याण्डको सबैभन्दा ठूलो दातृराष्ट्र हो। सोलोमन आईसल्याण्डका प्रधानमन्त्री मुनासे सोगुभारेले यो सम्झौताले प्रशान्त क्षेत्रको शान्ति र सद्भाव नबिथोल्ने दाबी गर्नुभएको बीबीसीले जनाएको छ।
अस्ट्रेलियाको विपक्षी दल लेबर पार्टीले यो सम्झौतालाई विगत ८० वर्षयताकै अस्ट्रेलियाली विदेश नीतिको सबैभन्दा खराब असफलताको संज्ञा दिएको छ। प्रधानमन्त्री स्कट मोरिसनले सरकारको कूटनीतिक असफलताबारेको आरोपलाई अस्वीकार गरेका छन्।
न्यूजिल्यान्ड र अमेरिकाले पनि सोलोमन आईसल्याण्डले चीनसँग गरेको सम्झौताबाट दुःखी बनाएको प्रतिक्रिया दिएका खबरमा उल्लेख छ।