मुख्यमन्त्री विवाइसी महिला गोल्डकपः एपिएफ उपाधि नजिक
धनगढीः विभागीय टोली नेपाल शसस्त्र प्रहरी बलको एपिएफ क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक राखेको छ। बुधबार पाँचौ दिन धनगढी रंगशालामा भएको पहिलो सेमिफाईनल खेलमा अर्को विभागीय टोली नेपाल आर्मी क्बलाई हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो।
एपिएफ आर्मीलाई ३–२ ले हराउँदै फाईनलको यात्रा तय गर्न सफल रह्यो। एपिएफलाई उपाधि नजिक पुराउन सरु लिम्बुले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरिन्। यस्तै सावित्रा भण्डारीले एक गोल गरिन्। आर्मीका लागि सपना लामा र हेमा चौधरीले एक एक गोल फर्काइन्।
एपिएफका लागि सरुले पहिलो हाफको २३ औं मिनेटमा पहिलो गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाइन्। त्यसको ११ मिनेटपछि खेलको ३४ औं मिनेटमा सरुले नै व्यक्तीगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाइन्। पहिलो हाफमा २–० ले अगाडी रहेको एपिएफले दोस्रो हाफमा गोल थप्यो। खेलको ७१ औं मिनेटमा सावित्राले गोल गर्दै अग्रता तेब्बर बनाइन्। खेलको ८७ औं मिनेटमा आर्मीका लागि सपना लामाले गोल गर्दै अग्रता घटाइन्। अतिरिक्त समयको ९२ औं मिनेटमा आर्मीका लागि हेमा चौधरीले अर्को गोल गर्दै गोल अन्तरलाई एकमा झारिन् । त्यसपछि गोल हुन नसकेपछि एपिएफ ३–२ को जित निकाल्दै फाईनलमा पुग्यो।
खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेकी एपिएफकी सरु लिम्बु प्लेयर अफ द म्याच भईन्। उनले नगद ५ हजार सहित ट्रफी पाईन्। वनदेवी युवा क्लबको आयोजनमा भईरहेको प्रतियोगिता अन्तर्गत विहीबार दोस्रो सेमिफाईनल खेल हुनेछ। विहीवार हुने दोस्रो सेमिफाईनलमा आयोजक वनदेवी युवा क्लब र नेपाल पुलिस क्लब खेल्नेछन्।
वैशाख १० गतेसम्म सञ्चालन हुने गोल्डकपमा ३ विभागीय सहित ८ टिमको सहभागिता रहेको छ। गोल्डकपको विजयी टिमले ट्रफी सहित नगद ५ लाख र उपविजेताले ट्रफी सहित २ लाख ५० हजार रुपैयाँ पुरस्कार राशि प्राप्त गर्नेछ।
प्रतियोगितामा ओम्यान अफ दी म्याचलाई ५ हजार, त्यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १० हजार र प्रतियोगिता भरी उत्कृष्ट हुने खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुसन जोशीले बताए। धनगढीमा दिउँसो अत्यधिक गर्मी हुने भएकोले पहिलो पटक रात्रिकालीन प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिताको मुख्य प्रबद्र्धकमा सुप प्रदेश खेलकुद परिषद रहेको छ ।