सुदूर नेपाललाई विश्वसँग जोड्दै

भेट्रान राष्ट्रिय फुटबलको उपाधिका लागि संगम बी र सानो गौचरन भिड्ने

२०७९ वैशाख ५, ०९:३६ रासस

कास्की: पोखराको संगम बी र काठमाडौँको सानो गौचरनले पोखरामा जारी ‘नाइन ए साइड राष्ट्रिय भेट्रान’ फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्। गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा यही वैशाख २ गतेदेखि पोखरा रङ्गशालामा जारी प्रतियोगिताअन्तर्गत आज सम्पन्न सेमिफाइनल खेलमा पोखराको संगमले घरेलु टोली बगर भाइखलकलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो। यसैगरी सानो गौचरनले चितवन भेट्रानलाई पराजित गर्दै उपाधि नजिक पुगेको हो।

पहिलो सेमिफाइनल खेलमा संगम बीले बगर भाइखलकलाई ३–१ गोल गर्न सफल भयो। संगमका लागि ‘प्लेयर अफ दि म्याच’ नरेन्द्रजङ्ग गुरुङले दुई तथा लालबहादुर खत्रीले एक गोल गरे। बगर भाइखलकका लागि मनोज गुरुङले एक गोल फर्काए। 

यसैगरी दोस्रो सेमिफाइनलमा शुक्र तामाङको दुई गोलमा सानो गौचरनले चितवन भेट्रानमाथि ३–० ले पन्छाउँदै फाइनल सुरक्षित बनायो। तेजबहादुर गलामीले २२औँ मिनेटमा गोल गर्दै दिलाएको अग्रतामा शुक्रले ३८ र ४९औँ मिनेटमा थप दुई गोल गर्दै संगमसँग उपाधि प्रतिस्पर्धा निश्चित बनाए। उनी ‘प्लेयर अफ दि म्याच’ घोषित भए।। प्रतियोगिताको फाइनल खेल मङ्गलबार हुने खेलकुद मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले जानकारी दिए।

प्रतियोगितामा विजेता टोलीले नगद रु तीन लाख राशिसहित ट्रफी प्राप्त गर्ने छ। उपविजेताले एक लाख ५० हजार प्राप्त गर्ने प्रतियोगिताका संयोजक दिलबहादुर गुरुङले जानकारी दिए। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार प्राप्त गर्ने छन्। उत्कृष्ट स्ट्राइकर, सर्वाधिक गोलकर्ता, मिडफिल्डर, डिफेन्डर र गोलकिपरले जनही १५ हजार प्राप्त गर्ने मन्त्रालयले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस