सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा यस्तो छ स्थानीय निर्वाचन सुरक्षा योजना 

२०७९ वैशाख ५, ०६:२९ खबर संवाददाता

वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिममा २०७४ को स्थानीय तह निर्वाचनलाई आधार बनाएर सुरक्षा रणनीति तयार गर्नेगरी जिल्ला सुरक्षा समितिहरुलाई क्रियाशील बनाइएको छ।

सुरक्षा समन्वय समिति कैलालीले ५२ मतदानस्थललाई ‘अति संवेदनशील’ को सूचीमा राखेको छ। यस्तै २ सय ३६ मतदानस्थलमध्ये सुरक्षाका हिसाबले १ सय ३१ सामान्य र ५३ मतदान केन्द्रलाई अति सामान्यको सूचीमा समावेश गरिएको छ। विगतका निर्वाचनमा भएका घटना, दलहरूको प्रतिस्पर्धा, भौगोलिक अवस्था लगायतलाई आधार बनाई मतदानस्थलको वर्गीकरण गरिएको हो। 

मतदानस्थलको अवस्थाका आधारमा सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। ‘जिल्ला प्रशासन कार्यालय कैलालीले अति संवेदनशील, सामान्य र अति सामान्य गरी मतदान केन्द्रहरुको वर्गीकरण गरिसकेको छ। भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा सतर्कता उच्च पारिएको छ’ उनले भने। 

मतदानस्थलबाट मतगणना स्थलसम्म मतपेटिकालाई सुरक्षित ढुवानी गर्नसमेत आवश्यक सुरक्षा रणनीति बनाइएको छ। निर्वाचन आयोगले मतगणनास्थलमा सीसीटीभी क्यामरा जडान गर्न निर्देशन दिएपछि सुरक्षा टोलीले मतगणनास्थलको निरीक्षणसमेत गरिरहेको छ। यसपटक कहिँकतैबाट हिंसात्मक गतिविधि नहुने सुरक्षा निकायको विश्लेषण छ। मतदान र मतगणनास्थलमा खटिने कर्मचारीहरूको व्यवस्थापन, मतपेटिकाको मौज्दात विवरण अध्ययन, मसलन्दका सामग्रीहरूको व्यवस्थापनलगायत काम भइरहेको छ। 

स्थानीय निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय कैलालीले गर्नुपर्ने सबै तयारीहरु अघि बढाइसकिएको सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए। ‘मतदानस्थल, मतदान केन्द्र लगायतको काम भइसकेको छ। थप अन्य कार्यका लागि पनि काम भइरहेको छ’ उनले भने।  यस्तै बन्दोबस्ती सामग्रीहरू सवारीसाधन, हातहतियार, गोलीगठ्ठा, सञ्चार सेटलगायत सुरक्षा उपकरणको व्यवस्थापन प्रक्रिया पनि अघि बढिसकेको छ। 

निर्वाचन सुरक्षा व्यवस्थापनमा राज्यका चारवटै सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना परिचालन गरिनेछ। यस्तै म्यादी प्रहरीको भर्ना पनि भइसकेको छ। निर्वाचन सुरक्षामा मतदानस्थल सुरक्षाको पहिलो घेरामा प्रहरी, त्यसपछि म्यादी प्रहरी, सशस्त्र प्रहरी र सेनालाई राखिनेछ। 

निर्वाचन लक्षित विशेष सुरक्षा योजना सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले तयार पारेर सार्वजनिक गर्ने तयारीमै रहेको प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलले बताए। कैलालीमा मतदानस्थल २३६ तथा ६१९ मतदान केन्द्र तोकिएको छ। जिल्लाका १३ वटै स्थानीयतहमा गरी ५ लाख २५ हजार एक सय २५ मतदाता छन्।
 

कमेन्ट लोड गर्नुस